८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चार्ल्स बेलायतका कस्ता राजा होलान् ?

चार्ल्स तृतीयलाई लन्डनस्थित सेन्ट जेम्स प्यालेसमा आयोजित एक विशेष समारोहमा राजा घोषणा गरिएको छ। राज्यारोहण समारोह पहिलोपटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो।  

महारानी एलिजाबेथ द्वितीयाको बिहीबार राति निधन भएपछि शनिबार चार्ल्स तृतीयलाई विधिवत् रूपमा राजा घोषणा गरिएको हो। साधारणतः यस्तो कार्यक्रम शासकको मृत्यु भएको २४ घन्टाभित्रै हुने भए पनि यो घोषण गर्न भने केही समय लागेको थियो। चार्ल्स तृतीयले उनी राजा घोषणा हुने औपचारिक समारोहलाई टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्न दिने निर्णय गरेसँगै एउटा नयाँ परम्परा स्थापना भएको छ।

घोषणासभामा बेलायतका पूर्वप्रधानमन्त्रीहरू गोर्डन ब्राउन, डेभिड क्यामरन, बोरिस जोनसनलगायत लन्डनका मेयर, वरिष्ठ न्यायाधीश र अन्य अधिकारीहरू सहभागी थिए। प्रिन्स अफ वेल्स तथा राजाका छोरा विलियम पनि उक्त कार्यक्रमा सहभागी थिए। नयाँ घोषणसँगै राजा चार्ल्सकी पत्नी क्यामिला पार्कर बावल्सले नयाँ उपाधि क्विन कन्सोर्ट पाएकी छन्। बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्रस र आर्चबिसप जस्टिन वेल्बीले सो समारोहको अवलोकन गरेका थिए।

राजाको नाम घोषणा गरिएको उक्त समारोहमा सहभागीले ‘ईश्वरले राजाको रक्षा गरून्’ भनेका थिए। राजाका औपचारिक सल्लाहकारहरूको निकाय प्रिभी काउन्सिलका सदस्यहरू पनि सेन्ट जेम्स प्यालेसमा सहभागी थिए। राजा घोषणा गर्ने जिम्मा रहेको एक्सेसन काउन्सिलका सदस्यहरूले नयाँ राजालाई सेन्ट जेम्स प्यालेसको गद्दी भएको कक्षमा अभिवादन गरेका थिए। काउन्सिलमा गरेको पहिलो सम्बोधनमा भावुक बनेका नयाँ राजाले ‘सेवामा समर्पित आफ्नी प्रिय आमाको जीवनबारे’ आफ्ना धारणा राखेका थिए र दिवंगत आमाको पदचाप पछ्याउने वाचा गरेका थिए।

‘मेरी आमाको शासनकाल आफ्नो सेवावधि, समर्पण र निष्ठाका हिसाबले अतुलनीय छ। हामी सबै शोकमा रहे पनि उहाँको इमानदार जीवनका लागि धन्यवाद दिन चाहन्छौं,’ उनले भने, ‘यो गहिरो विरासत, जिम्मेवारी मलाई हस्तान्तरण भएको छ। म त्यसबारे गम्भीर रूपमा जानकार छु।’ उनले क्विन कन्सोर्ट क्यामिलालाई पनि धन्यवाद दिए। ‘म मेरी प्रिय श्रीमतीको निरन्तरको समर्थनले प्रोत्साहित छु,’ उनले भने।

७३ वर्षीय राजाले आफ्नी आमा एलिजाबेथ द्वितीयको शासन प्रत्यक्ष रूपमा देखेका र भोगेका छन्। उनले बेलायतका १५ प्रधानमन्त्री र अमेरिकाका १४ राष्ट्रपतिको कार्यकाल देखिसकेका छन्। त्यो हिसाबले उनी राजाका लागि सबै हिसाबले तयार मानिन्छन्। बेलायतका संवैधानिक कानुनका विज्ञ प्राध्यापक भर्माेन बोगडानोर बहुसांस्कृतिक तथा बहुविश्वास भएको बेलायतलाई चाल्र्सले सही हिसाबले नेतृत्व दिने ठान्छन्। त्यसो त  

राजा चाल्र्सले आफ्नी आमाले शासन सम्हाल्न सुरु गरेको बेलाभन्दा बेलायत अहिले झन् विविध समुदायको घर भएको चर्चा गर्दै नयाँ राजाका रूपमा आफूले अल्पसंख्यक तथा विपन्न समूहहरूलाई राज्यसँग जोड्ने तथा बेलायतलाई एकताको सूत्रमा बाँध्ने बताए।

नयाँ राजासँग लामो समयसम्म काम गरेका सर लोयड डोर्फम्यान अर्गानिक खेती तथा जलवायु परिवर्तनजस्ता विषयमा रहेको चाल्र्स तृतीयको संलग्नतामा कमी नआउने विश्वास व्यक्त गर्छन्। ‘उनीसँग धेरै ज्ञान छ। उनले यसको प्रभावकारी प्रयोग गर्नेछन्,’ उनी भन्छन्। राजसंस्थाकी विश्लेषक भिक्टोरिया मर्फी पनि नयाँ राजाले यसअघिको व्यवस्थालाई निरन्तरता दिने बताउँछिन्। ‘धेरै परिवर्तनको आशा नगरौं। उनले सावधानीपूर्वक नेतृत्व सम्हाल्नेछन्,’ उनी भन्छिन् ।

प्रकाशित: २६ भाद्र २०७९ ०१:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App