८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चीनद्वारा अमेरिकासँगको वार्ता रद्द

अमेरिकी तल्लो सदनकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले अमेरिकासँग जारी जलवायु परिवर्तन, सैनिक सम्बन्ध तथा लागुपदार्थ नियन्त्रणसम्बन्धी वार्ता रद्द गर्ने भएको छ। शुक्रबार गरिएका यी घोषणाको निहित उद्देश्य अमेरिकालाई सजाय दिनु रहेको जनाइएको छ।

ताइवानलाई आफ्नै अधीनस्थ भूभाग दाबी गर्दै आएको चीनले पेलोसीको हालैको भ्रमणपछि ताइवाननजिकैको सामुद्रिक क्षेत्रका ६ स्थानमा सैनिक अभ्यास अगाडि बढाएको छ। ताइवानलाई लक्षित गरी क्षेप्यास्त्रसमेत प्रहार गरिएको चीनका सुरक्षा अधिकारीले सरकारी सञ्चारमाध्यमलाई बताएका छन्। स्वशासित तटीय राष्ट्र ताइवानले अन्तर्राष्ट्रिय सम्बन्ध राख्न नहुने जिकिर चीनको छ। २५ वर्षयता उच्चपदस्थ अमेरिकी अधिकारीले ताइवान भ्रमण गरेको यो पहिलोपटक हो।

पछिल्ला गतिरोधपछि दुई देशका सुरक्षा विभाग र एरिया कमान्डर प्रमुखको वार्ता, नौसेनाको सुरक्षासम्बन्धी संवाद रद्द गरिएको चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैगरी गैरकानुनी आप्रवासी फिर्ता, अपराध अनुसन्धान, अन्तर्राष्ट्रिय अपराध, लागुपदार्थ तथा जलवायु परिवर्तनलगायत विषयका जारी वार्ता रद्द गरिएको छ। यसैबीच चीनले पछिल्ला दुई दिनयता १०० लडाकु विमान, १० युद्धपोतमार्फत ताइवानवरपर सैनिक ड्रिल अभ्यास जारी राखेको छ। ताइवानी समुद्री तटनजिकैका ६ स्थानमा यस्तो सैनिक अभ्यास गरिएको बताइएको छ।  

चीनको परराष्ट्र मन्त्रालयका एक अधिकारीले पेलोसीको भ्रमणले उत्तेजना बढाएको, चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई अपमान गरेको बताए। सैनिक अभ्यास सुरु भएयता प्रक्षेपण गरिएका पाँच क्षेप्यास्त्र जापाननजिकको क्षेत्रमा लक्षित गरिएको जापानका सुरक्षामन्त्री नोवुहो किसीले बताएका छन्। जापानका प्रधानमन्त्री फुमिओ किसिदाले चीनले गरेको सैनिक अभ्यासले क्षेत्रीय शान्ति तथा सुरक्षामा आँच पुगेको बताएका छन्। अमेरिकी सभामुख पेलोसीले एसियाली राष्ट्रको भ्रमण जापानबाट टुंग्याएकी छन्। जापानमा बोल्दै उनले अमेरिकी अधिकारीको ताइवान भ्रमणलाई चीनले रोक्न नसक्ने बताइन्।

युरोपियन युनियनले चिनियाँ सैनिक अभ्यासको विरोध गरेको भन्दै चीनले बेइजिङमा रहेको युरोपियन कूटनीतिज्ञलाई बोलाएर विरोध प्रकट गरेको छ। यसअघि चीनले अमेरिकी राजदूत निकोलस बन्र्सलाई बोलाएर सभामुख पेलोसीको भ्रमणको विरोध गरेको थियो। उता अमेरिकाका सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिन्कनले सैनिक अभ्यास गरेर चीनले उत्तेजना बढाउने काम गरेको आरोप लगाएका छन्। आसियन राष्ट्रको कम्बोडियामा जारी बैठकको अवसरमा उनले सभामुख पेलोसीको भ्रमण शान्तपूर्वक सम्पन्न भएको र उक्त भ्रमणले ताइवानप्रतिको अमेरिकी नीतिलाई परिवर्तन नगर्ने बताए। 

प्रकाशित: २१ श्रावण २०७९ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App