८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

धार्मिक तनाव बढ्दै गर्दा भारतमा एक हिन्दुको हत्या

एक हिन्दुको घाँटी रेटेर हत्या गरेको आरोपमा दुई मुस्लिमलाई मंगलबार पक्राउ गरिएपछि भारतको पश्चिमी सहर उदयपुरमा तनाब बढेको छ। एक हिन्दु टेलर्सको क्रूरतापूर्वक हत्या गरिएको र सामाजिक सञ्जालमा भिडियो पोस्ट भएपछि धार्मिक ध्रुवीकरणबाट प्रभावित भारतमा साम्प्रदायिक हिंसा भड्किने सम्भावना देखिएको हो।  

पछिल्ला कैयौं महिनामा हिन्दु र मुस्लिम समुदायबिच तनाव बढेको बेला भए हत्याले थप हिंसा भड्किने आशंका गरिएको छ। हत्यासम्बन्धी भिडियो सामाजिक सञ्जालमा अत्यधिक सेयर नहोस् भन्ने उद्देश्यले सरकारी अधिकारीले उदयपुर सहर र राजस्थान राज्यवरपरको क्षेत्रमा इन्टरनेट सेवा बन्द गरेका छन् भने सहरमा थप प्रहरी परिचालन गरिएको छ। यसैगरी ठुलो संख्यामा भेला हुन पनि प्रहरीले रोक लगाएको छ। राजधानी नयाँदिल्लीमा दक्षिणपन्थी समूहसँग आबद्ध केही दर्जन प्रदर्शनकारीले हत्यारालाई फाँसी दिने माग गर्दै प्रदर्शन गरेका छन्।

हालैका महिनाहरूमा मुस्लिमलगायत अल्पसंख्यकमाथि हिन्दु राष्ट्रवादीले आक्रमण गरेका र कतिपय राज्यमा मुस्लिमहरूको घरमा बुल्डोजर चलाइएको समाचार सार्वजनिक भएका छन्। गत मे महिनामा भारतीय जनता पार्टीका दुई प्रवक्ताले प्रोफेट मोहम्मदप्रति आपत्तिजनक भनाइ राखेपछि दुई समुदायबिच तिक्तता बढेको हो। दुवै प्रवक्तालाई पार्टीबाट निष्कासन गरिएको छ। मंगलबार घाँटी रेटेर हत्या गरिएका ४७ वर्षीय टेलर्स कन्हैया लालले एक जना प्रवक्ताको टिप्पणीलाई समर्थन गरेको एक भनाइलाई सामाजिक सञ्जालमा सेयर गरेको स्थानीय समाचार माध्यमले जनाएका छन्। घटना घटेको केही घण्टामै प्रहरीले दुवै आरोपितलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा उदयपुरकै गोस मोहम्मम र रियाज अख्तरी रहेका छन्। हत्या गरेपछि पोस्ट गरेको दोस्रो भिडियोमा उनीहरूले कन्हैया लाललाई भगवान्को निन्दा गरेको र यही तरिकाले प्रधानमन्त्री मोदीको समेत हत्या गर्ने धम्की दिएका छन्।

रगतले लतपत चक्कु देखाउँदै सोफामा बसेर हाँस्दै उनीहरूले उक्त धम्की दिएका थिए। भिडियोमा हत्या गरिएका ती टेलर्सले एक आक्रमणकारीको नाप लिइरहेको र अर्काेले भिडियो खिचेको देखिन्छ। भिडियोमा आफ्नो नाप दिइरहेका ती आक्रमणकारीले टेलर्स लाललाई अकस्मात् आक्रमण गरेका र लालले उम्कने प्रयास गरेको देखिन्छ। भिडियो खिचिरहेको अर्काे व्यक्तिले फोन भुइँमा राखेर थप आक्रमण गरेका थिए भने हत्या गरिएका लालले सहयोगका लागि चिच्याएको भिडियोमा सुनिन्छ। प्रहरीका अनुसार हत्याराले घाँटी रेटेका थिए भने रक्ताम्य मृतकको शरीरलाई टेलिभिजनमा देखाइएको थियो। प्रहरीले भिडियो सेयर नगर्न अनुरोध गरे पनि दुवै भिडियो ट्विटर र फेसबुकमा सेयर भइरहेका छन्। यो घटनाले भारतमा धार्मिक हिंसा बढ्नसक्ने विज्ञको आँकलन छ।  

भारतीय जनता पार्टीका दुई प्रवक्ताले प्रोफेट मोहम्मदबारे गरेको टिप्पणीलाई कैयौं मुस्लिम देशहरूले कूटनीतिक रूपमा विरोध गरेका छन्। ‘यो क्रूर हत्याले भारतमा धार्मिक तनाव बढ्नसक्ने देखिन्छ। बहुसंख्यक हिन्दुको पक्षमा सत्तारुढ पार्टी रहेको सन्दर्भमा यो सम्भावना झन् प्रखर देखिन्छ,’ सेन्टर फर पोलिसी रिसर्चका वरिष्ठ अनुसन्धानकर्ता सुशान्त सिंह भन्छन्। सरकार र सरकारी नेतृत्वले उत्तेजित नहुन र शान्ति कायम गर्न आह्वान गर्ने सम्भावना कम रहेको समेत उनले बताए।  

मुस्लिम बहुसंख्यक रहेका बगंलादेश र पाकिस्तानमा ईश्वर निन्दा गर्नेलाई आक्रमण गरिनु सामान्य मानिन्छ तर भारतमा यस्तो क्रूर प्रकृतिको हिंसा भएको एकाध घटना छन्। गत मे महिनामा भारतको दक्षिणी सहर हैदराबादमा आफ्नी मुस्लिम पत्नीका नातेदारले एक हिन्दुलाई आक्रमण गरेर हत्या गरेका थिए। गत वर्ष एक हिन्दु प्रेमिकाद्वारा परिवारजनको निर्देशनमा एक मुस्लिम व्यक्तिको हत्या भएको थियो।

यसैगरी सन् २०१७ मा राजस्थानमा एक हिन्दुले मुस्लिम कामदारको हत्या गरेको भिडियो सार्वजनिक भएको थियो। मंगलबार भएको हत्यामा हालसम्म कुनै आतंककारी समूहको संलग्नता पुष्टि भएको छैन। भारतको गृह मन्त्रालयले घटनाको अध्ययन गर्न एक टोली राजस्थान पठाइसकेको छ।

राज्य प्रहरीले आक्रमणकारीलाई आतंककारीको अभियोग लगाएको छैन। उता, जमाते इस्लामी हिन्द नामक मुस्लिम संस्थाले घटनाको निन्दा गर्दै यसलाई क्रूरताको संज्ञा दिएको छ। ‘इस्लाम धर्मले यस प्रकारको हत्याको समर्थन गर्दैन,’ उक्त संस्थाले भनेको छ। राजस्थानका मुख्यमन्त्री अशोक गेहलटले घटनाको छानबिन हुने बताएका छन्। त आह्वान गरेका छन्।

प्रकाशित: १६ असार २०७९ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App