१८ असार २०७९ शनिबार
अन्तर्राष्ट्रिय

भारत: उडिरहेकाे विमानमा आगलागी

पूर्वी भारतको बिहार राज्यमा १ सय ८५ यात्रु बोकेको विमानको बायाँ इन्जिनमा आगो लागेपछि तुरुन्तै आपतकालीन अवतरण गरिएको अधिकारीहरूले बताएका छन्। विमानमा सवार सबै यात्रु सकुशल रहेको अधिकारीहरुले जनाएका छन्।

दिल्ली जाँदै गरेको स्पाइसजेटको विमान बिहारको राजधानी पटनाको विमानस्थलबाट उडेको थियो।'विमान सुरक्षित अवतरण भएको छ र सबै यात्रुहरूलाई सकुशल अवतरण गरिएको छ', पटना जिल्ला मजिस्ट्रेट चन्द्रशेखर सिंहले भने।

'टेक अफपछि तुरुन्तै विमानको बायाँ पखेटामा आगो देखियो, जुन फुलवारी शरीफ क्षेत्रका मानिसहरूले देखे। उनीहरूले विमानस्थलका अधिकारीहरूलाई सचेत गराए। पाइलटले पनि त्रुटि बुझे रआपतकालीन अवतरण गरे।'

यसैबीच, स्पाइसजेटका अधिकारीहरूले चरा ठोक्किएर विमानको एउटा इन्जिनमा आगो लागेको बताएका छन्। 'जुन १९२२ मा, स्पाइसजेट बि७३७ विमानले एसजी ७२३ (पटना -दिल्ली) सञ्चालन गरिरहेको थियो। टेकअफको क्रममा, ककपिट चालक दलले इन्जिनमा चरा ठोक्किएको शंका गरेका थिए।' एयरलाइनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा थपिएको छ, 'सावधानीका रूपमा सञ्चालन प्रक्रिया (एसओपी) अनुसार, क्याप्टेनले प्रभावित इन्जिन बन्द गरे र पटना फर्कने निर्णय गरे। विमान पटनामा सकुशल अवतरण गरिएको छ र यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालियो। निरीक्षणमा उडानको क्रममा इन्जिनको ब्लेडमा तीन वटा चरा ठोकिँदा  आगो लाग्न सुरू भएको अनुमान गरिएको छ।' 

प्रकाशित: ५ असार २०७९ १७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App