coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिलिपिन्सको राष्ट्रपतिमा जुनियर मार्काेस

यो साता फिलिपिन्सका सम्पन्न राष्ट्रपति चुनावमा पूर्वतानाशाह फर्डिनान्ड मार्काेसका छोरा जुनियर मार्काेस विजयी भएका छन्। सोमबार सुरु भएको मतगणनामा उनले ३ करोड १० लाख मत हासिल गरेका छन्। पछिल्ला केही दशकमा भएका चुनावका तुलनामा उनले प्राप्त गरेको मत अत्यधिक छ। उपराष्ट्रपतिमा पनि उनकै सहयोगी सारा दुतर्ते भारी मतले विजयी भएको देखिएको छ।

जुनियर मार्काेसका प्रवक्ता भिक रोड्रिगेजले यो विजयले प्रजातन्त्रको विजय भएको र नवनिर्वाचित राष्ट्रपतिले राजनीतिक रूपमा विभक्त देशलाई साझा नेतृत्व दिने बताए। ‘मलाई मेरा पूर्वजका आधारमा नभई कामका आधारमा मूल्यांकन गर्न समग्र विश्वलाई अनुरोध गर्दछु,’ जुनियर मार्काेसलाई उद्धृत गर्दै प्रवक्ता रोड्रिगेजले बताए।

फिलिपिन्स कांग्रेसले नतिजालाई अनुमोदन गरेपछि जुन ३० मा नवनिर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिले ६ वर्षे कार्यकालका लागि पद बहाल गर्नेछन्। कोभिड–१९ महामारीपछिको आर्थिक पुनरुत्थानमा उनीहरूको जोड रहनेछ।

जुनियर मार्काेसका प्रतिद्वन्द्वीले हार स्वीकार गरेका छन्। प्रतिद्वन्द्वीहरूमा पूर्वबक्सिङ च्याम्पियन मानी पाक्याओ, मानवअधिकारको पक्षमा वकालत गर्दै आएका वकिल तथा उपराष्ट्रपति लेनी रोब्रेडोलगायत थिए। ‘बक्सिङ खेलाडीका नाताले मैले हारलाई स्वीकार गर्न जानेको छु,’ पाक्याओले एक भिडियो सन्देशमा भनेका छन्।

फिलिपिन्समा चुनावको नतिजा सार्वजनिक भएलगत्तै अमेरिकाले नयाँ राष्ट्रपतिसँग मिलेर काम गर्ने बताएको छ। ‘हाम्रो विशेष सम्बन्धलाई नवीकरण चाहन्छौं र मानवअधिकार र क्षेत्रीय प्राथमिकताका क्षेत्रमा मिलेर काम गर्न चाहन्छौं,’ अमेरिकाको स्टेट डिपार्टमेन्टका प्रवक्ता नेड प्राइसले भनेका छन्। यसैगरी चीनले पनि चुनावमा अग्रणी स्थानमा रहेका उम्मेदवारलाई बधाई दिँदै स्वतन्त्र तवरले चुनाव सम्पन्न गरेको फिलिपिन्सलाई बधाई दिएको छ।

सन् १९८६ मा सैनिकको समर्थनमा मार्काेसका पिता सत्ताच्युत भएका थिए। जुनियर मार्काेसले आफ्ना पिताको बिरासतको प्रतिरक्षा गर्दै आएका छन् र उनले आफ्ना पिताले गरेको मानवअधिकार उल्लंघनप्रति माफी माग्न अस्वीकार गर्दै आएका छन्।

उनले मंगलबार आफ्ना पिताको समाधिस्थलमा पुष्पगुच्छा चढाएका छन्। ६४ वर्षीय जुनियर मार्काेसले यसअघि प्रान्तिय गभर्नर, कांग्रेस सदस्य तथा सेनेटरको जिम्मेवारी निर्वाह गरिसकेका छन्। अमेरिकामा रहेको ह्युमन राइट्स वाचले नवनिर्वाचित राष्ट्रपतिलाई मानवअधिकारको अवस्थालाई सुधार्न तत्काल पहल गर्न आह्वान गरेको छ। 

प्रकाशित: २९ वैशाख २०७९ ०४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App