५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

शक्ति राष्ट्रको चेपुवाले भुङ्रोमा युक्रेन

शक्तिशाली मुलुकहरूको बीचमा रहेर उनीहरूको स्वार्थलाई सम्बोधन नगर्दा एउटा स्वतन्त्र मुलुक कसरी युद्धको भुङ्रोमा पर्छ, यसको पछिल्लो उदाहरण बनेको छ युक्रेन। 

सोभियत संघ विघटन हुनुभन्दा पहिले आफैं पनि उक्त संघको अंग रहिसकेको युक्रेनले अर्काेतर्फ जोडिएको युरोपेली संघसँग सम्बन्ध बढाउन खोज्दा छिमेकी रुसको आक्रमणमा परेको छ। युक्रेनले कित्ता परिवर्तन गरेर नेटोसँग निकटता जनाउनुको परिणाम युद्धको भुङ्रोमा हेलिनुपरेको छ।

नर्थ एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्य बन्ने युक्रेनको चाहना र त्यसलाई रोक्ने रुसको चाहनाबीच तालमेल नहुँदा उनीहरूबीच लामो समयदेखि तनाव थियो। पश्चिमी मुलुकहरू नेटोको माध्यमबाट आफ्नो क्षेत्रमा प्रवेश गर्न सक्छन् भन्ने रुसको चिन्ता छ।

युरोपेली युनियन र अमेरिकाले युक्रेनलाई नेटोको सदस्य बन्न प्रेरित गर्दै आएका थिए। नेटोको सदस्य बन्ने कुरा युक्रेनले आफ्नो संविधानमा समेत उल्लेख गरेको छ। अमेरिका र उसका सहयोगी देशहरूले युक्रेनलाई नेटोमा सहभागी हुन रोक्न नहुने र एउटा स्वतन्त्र मुलुकका हिसाबले युक्रेनले निर्णय गर्न सक्ने तर्क गर्दै आएका थिए। तर जब रुस आक्रमणमा उत्रियो, युक्रेनलाई समर्थन गर्दै आएका पश्चिमा मुलुक साथ दिनबाट पछि हटे।

रुसले आक्रमण गर्दा अमेरिका तथा युरोपेली मुलुकको साथ पाउने विश्वास गरेका युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेस्कीले सोचेअनुसारको सहयोग नपाएपछि युरोपेली नेताहरूको आलोचना गरेका छन्। शुक्रबार सैनिक पोसाकमा राष्ट्रपति कार्यालयबाट सम्बोधन गर्दै उनले रुसविरुद्ध युरोपेली नेताहरूको कारबाही अपर्याप्त भएको बताए।

उनले तीव्र गतिमा कदम उठाएको खण्डमा रुसी हमला रोक्न अझै पनि समय बाँकी रहेको भन्दै युरोपेली संघका नागरिकलाई आआफ्ना देशका सरकारलाई निर्णायक कारबाहीका लागि बाध्य बनाउन आन्दोलन गर्न आग्रह गरेका छन्। तर बिहीबार साँझसम्म उनको चाहनाअनुसारको सहयोग गर्न पश्चिमा मुलुकहरू अग्रसर भइसकेका छैनन्।

बिहीबार बिहानै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध विशेष सैन्य अभियान घोषणा गरेसँगै रुसी सेनाले युक्रेनलाई घेराबन्दी गर्दै द्रुत गतिमा आक्रमण अघि बढाएको थियो। पुटिनले सुरुमा युक्रेनको पूर्वी डनबास क्षेत्रमा आक्रमण गर्ने घोषणा गरेका थिए। त्यस क्षेत्रमा अधिकांश रुसी भाषी युक्रेनीको बसोबास छ।

गत सोमबार एक सम्बोधनका क्रममा रुसी राष्ट्रपति पुटिनले आधुनिक युक्रेन पूर्णरूपमा रुसले बनाइदिएको दाबी गरेका थिए। उनले युक्रेन रुसका लागि छिमेकी मलुक मात्र नभएर रुसी इतिहास, संस्कृति र आध्यात्मिक हिसाबले पनि एक अविभाज्य हिस्सा भएको बताएका थिए।

सन् २०१४ मा युक्रेनमा रुस समर्थक राष्ट्रपतिलाई सत्ताबाट हटाइएको रिसमा रुसले युक्रेनको पूर्वी प्रायदीप क्रिमियालाई नियन्त्रणमा लिएको थियो। त्यति बेला रुसले पूर्वी युक्रेनलाई आफ्नो नियन्त्रणमा राखेका पृथक्तावादीको खुलेर समर्थन गरेको थियो। त्यसलगत्तै नेटो गठबन्धनले पूर्वी युरोपेली मुलुकहरूमा पहिले पटक गठबन्धनका सैनिक तैनाथ गरेको थियो।

यसको लक्ष्य भविष्यमा रुस नेटो क्षेत्रमा अघि बढेमा रोक्नु थियो। नेटोेले स्टोनिया, लातविया, लिथुआनिया र पोल्यान्डमा चार बटालियन सैनिक खटाएको छ। त्यस्तै रोमानियामा पनि नेटो सैनिक खटाइएको छ। रुस त्यस क्षेत्रबाट नेटो फौज हटोस् भन्ने चाहन्छ।

हालसालै पनि अमेरिकाले नेटोअन्तर्गत पोल्यान्ड र रोमानियामा तीन हजार अतिरिक्त सैनिक खटाएको छ। यसका अतिरिक्त युद्धको अवस्थाका लागि आठ हजार पाँच सय सैनिकलाई तैयारी अवस्थामा राखिएको छ। तथापि नेटो गठबन्धनले युक्रेनमा आफ्ना सैनिक खटाउने कुनै योजना नभएको बताएको छ। नेटोले युक्रेनको सहयोगका लागि २० करोड डलर बराबरका हतियार भने पठाएको छ।

जसमा अमेरिकामा निर्मित हतियारसहित एन्टी ट्यांक क्षेप्यास्त्र तथा स्टिङगर एन्टी एयरक्राफ्ट मिसाइलसमेत छन्।

आक्रमणको दोस्रो दिन केके भयो?  

रुसी हमलाको पहिलो दिन बिहीबार १३७ जनाले ज्यान गुमाएकोमा दोस्रो दिन रुसी सैनिक राजधानी किएभ पुगेका छन्। रुसी हमला जारी रहेका बेला ठूलो संख्यामा युक्रेनीहरूले देश छोडिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रसियन युद्धपोतले ब्ल्याक सी टापुमा रहेका १३ जना बोर्डर गार्डलाई हमला गरेर मारिदिएका छन्। उनीहरूले आत्मसमर्पण गर्न अस्वीकार गरेका थिए। संयुक्त राष्ट्रसंघका अनुसार दोस्रो दिनसम्म २५ जना गैरसैनिक नागरिकसहित एक सय २ जना युक्रेनी मारिएका छन्।

युक्रेनको रक्षा मन्त्रालयले एक हजारभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ। बेलायतका सशस्त्र बलसम्बन्धी मन्त्री जेम्स हिपीले चार सय ५० रुसी सैनिक मारिएको र युक्रेनतर्फ ५७ जना गैरसैनिक सहित एक सय ९४ जना मारिएको जानकारी गराएका छन्।

रुसी सेनाले शुक्रबार साझँसम्म राजधानी किएभनजिकै रहेको महत्वपूर्ण हवाई क्षेत्रलाई नियन्त्रणमा लिएको छ। उक्त अपरेसनमा दुई सय रसियन हेलिकोप्टर सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। रुसले भने शुक्रबारसम्म युक्रेनको विशेष सैन्य युनिटका दुई सय सैनिक मारिएको तर आफ्नो तर्फ कुनै क्षति नभएको दाबी गरेको छ।

रुसका विदेशमन्त्री सर्गाेई लावरोफले युक्रेनमा सैन्य कारबाहीको उद्देश्य युक्रेनका नागरिकलाई दमनबाट मुक्त गराउनु रहेको बताएका छन्। राजधानी मस्कोमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले युक्रेनका नागरिकमाथि दमन हुँदा रुस मौन बस्न नसक्ने बताएका थिए।

उनले रुसले युक्रेनलाई कब्जा गर्ने नभई निशस्त्रीकरण मात्र गर्न चाहेको बताएका छन्। रुसी सेना राजधानी किएभमा प्रवेश गरेसँगै युक्रेनको रक्षा मन्त्रालयले नागरिकलाई सेनामा सहभागी हुन आग्रह गरेको छ। मन्त्रालयले सेनामा सहभागी हुन उमेर बाधक नहुने भन्दै नाबालिगहरू पनि भर्ना हुनसक्ने जनाएको छ।  

वार्ता गर्न रुस तयार  

रुसले युक्रेनसँग वाता गर्न तयार भएको जनाएको छ। रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दमित्री पेस्कोवले बेलारुसको राजधानी मिन्स्कमा युक्रेनसँग वार्ता गर्न तयार भएको बताएका छन्। रुसी सरकारी समाचार संस्था आरआरएए नोवस्तीका अनुसार वार्ताका लागि युक्रेनले आफूलाई तटस्त स्थितिमा रहेको घोषणा गर्नुपर्ने सर्त रुसले राखेको छ। जसमध्ये निशस्त्रीकरण समेत हुनुपर्ने रहेको छ। मिन्स्क सन् २०१४ मा पूर्वी युक्रेनमा रुस समर्थित विद्रोही र युक्रेनी सेनाबीच चलिरहेको द्वन्द्व अन्त्य गर्न सहमति भएको क्षेत्र हो।

प्रकाशित: १४ फाल्गुन २०७८ ०२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App