७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

डिएनए चोरिने डरले रुसमा पिसिआर गर्न अस्वीकार

आफ्नो डिएनए चोरी हुन सक्ने भन्दै फ्रान्सका राष्ट्रपति इमानुएल माक्राेंले रुस भ्रमणका बेला कोभिड–१९ परीक्षण गर्न अस्वीकार गरेको पाइएको छ।

राष्ट्रपति माक्रोंले गत साता रुस भ्रमणका अवसरमा कोभिड–१९ परीक्षण गर्न रुसका अधिकारीले गरेको अनुरोधलाई अस्वीकार गरेको भ्रमणटोलीमा संलग्न स्रोतले रोयटर्सलाई बताएको छ।

यही कारणले युक्रेन संकटलाई समाधानार्थ मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग माक्रोंले गरेको भेटवार्तामा अत्यधिक दूरी कायम गरिएको थियो। गत सोमबार भएको भेटवार्ताका क्रममा दुई राष्ट्रपतिको बीचमा १३ फिट लामो टेबुल राखिएको थियो।

जसमा पर्यवेक्षकले आश्चर्य व्यक्त गरेका थिए। यसमा केही कूटनीतिज्ञले रुसी राष्ट्रपतिले कूटनीतिक सन्देश दिन खोजेको तर्कसमेत गरेका थिए। फ्रान्सेली राष्ट्रपतिलाई पिसिआर परीक्षण गर्नुपर्ने वा भेटघाटका क्रममा रुसी राष्ट्रपतिसँग सामाजिक दूरी कायम राख्नुपर्ने भनेर दुई विकल्प दिइएको स्रोतले जनाएको छ।

‘हामीलाई प्रष्ट थियो– सामाजिक दूरी कायम गर्दा हात मिलाइने छैन र लामो टेबुल राखिनेछ। तर हाम्रा राष्ट्रपतिको डिएनएमा उनीहरूको पहुँच हुने भएकाले हामीले पिसिआर परीक्षणको अनुरोधलाई स्वीकार गर्न सकेनौं,’ फ्रान्सेली राष्ट्रपति सम्बद्ध एक स्रोतले रोयटर्सलाई भन्यो। रुसी डाक्टरले पिसिआर परीक्षण गर्दा यस किसिमको सुरक्षा चिन्ता रहेको स्रोतले बतायो।

रुसी सरकारका प्रवक्ताले रोयटर्सले यस विषयमा राखेको जिज्ञासा (मेसेज) प्रति तत्काल प्रत्युत्तर दिएनन्। भ्रमण दलमा सहभागी अर्काे स्रोतले पनि फ्रान्सेली राष्ट्रपतिले रुसमा पिसिआर परीक्षण गर्न अस्वीकार गरेको बतायो। माक्रोंले रुस भ्रमणअघि फ्रान्समै पिसीआर परीक्षण गरेको र रुस पुगेपछि आफ्नै चिकित्सकबाट एन्टिजेन परीक्षण गरेको उक्त स्रोतले बतायो।

स्रोतका अनुसार भेटघाटका क्रममा राष्ट्रपति पुटिन जनस्वास्थ्य सुरक्षाको कडा घेरामा रहेको रुसी अधिकारीले बताएका छन्। दुई राष्ट्रपतिले सामाजिक दूरी राखेर गरेको भेटवार्ताको तीन दिनपछि अर्थात् बिहीबार काजिकिस्तानका राष्ट्रपति जोमार्ट टोकायेवसँगको भेटघाटमा भने रुसी राष्ट्रपति पुटिनले हात मिलाएका थिए। उनीहरूले कफी टेबुलमा आमनेसामने बसेर वार्ता गरेका थिए। – रोयटर्स

प्रकाशित: २९ माघ २०७८ ०१:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App