८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

देउवासहित बिमस्टेकका नेता भारतको गणतन्त्र दिवसमा मुख्य अतिथि

भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्री शेरबहादुर देउवासहित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको पहल(बिमस्टेक) सदस्य मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई सहभागी गराउन पहल सुरु गरेको छ।

भारतीय पत्रिका दि इन्डियन एक्सप्रेसका अनुसार साउथ ब्ल्कले बिमस्टेक देशका सरकार प्रमुख वा राष्ट्रप्रमुख उक्त कार्यक्रममा सहभागी हुने नहुने भन्ने बारेमा निश्चित गरिरहेको छ। गणतन्त्र दिवसमा सहभागी हुने पाहुनाको बारेमा निश्चित भएसँगै उनीहरूलाई औपचारिक रूपमा पत्र पठाइने र उनीहरूको नाम सार्वजनिक गरिने जनाइएको छ।

कार्यक्रममा नेपालसहित भुटान, बंगलादेश, म्यानमार, श्रीलंका, र थाइल्याण्डका सरकार प्रमुख वा राष्ट्र प्रमुख सहभागी हुने सम्भावना रहेको छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीका रूपमा दोस्रो कार्यकाल सुरु गर्दा सन् २०१९ मा बिमस्टेक मुलुकका सरकार प्रमुख र राष्ट्र प्रमुखले सहभागिता जनाएका थिए। सहभागीमध्ये कतिपय देशका सरकार प्रमुख र राष्ट्रप्रमुख परिवर्तन भइसकेका छन्।

भारतले देउवासहित बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका प्रधानमन्त्री महेन्द्रा राजापक्ष वा उनका दाजु राष्ट्रपति गोतावय राजापक्ष, भुटानका प्रधानमन्त्री लोट्य छिरिङ, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत् चान ओ चा र म्यानमारका राज्य प्रशासन परिषद्का अध्यक्ष जनरल मिन आङ हलिङले कार्यक्रममा सहभागी हुने आशा गरेको छ।

भारतको गणतन्त्र दिवसमा बेलायती प्रधानमन्त्री बोरिस जोनसन उपस्थिति हुने भनेपनि बेलायतमा कोरोना महामारीको प्रभाव यथावत रहेकाले उनले आफ्नो भ्रमण स्थगित गरेका छन्। हाल भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथिको टुंगो लागेको छैन। भारतले गणतन्त्र दिवसका अवसरमा विभिन्न मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई प्रमुख अतिथिका रूपमा निम्त्याउने गरेको छ।

प्रकाशित: ७ मंसिर २०७८ ०१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App