८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

युरोप फेरि कोरोनाको केन्द्र बन्योः डब्लएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपेली देश फेरि पनि कोरोना भाइरसको महामारीको केन्द्र बन्न थालेको जनाएको छ।

सङ्गठनका युरोप क्षेत्रीय निर्देशक हङ्स क्युगले युरोपेली क्षेत्रमा महामारीको विषय सन्तोषजनक अवस्थामा नरहेको जानकारी दिए। बिहीबार सार्वजनिक भएको तथ्याङ्कले अघिल्लो वर्षकै अवस्थामा महामारी फर्किएको देखाएको उनले उल्लेख गरे।

“हामी महामारीको फेरि अर्को सङ्कटपूर्ण र चिन्ताजनक अवस्थामा आइपुगेका छौँ,” भर्चुअल माध्यमबाट भएको पत्रकार सम्मेलनमा उनले भने।

अहिले फेरि फर्किएको महामारी अघिल्लो वर्षको ‘रेकर्ड’समेत तोड्न सक्ने खतरा रहेको पनि उनले औल्याए। पछिल्लो समयमा युरोपेली क्षेत्र अन्तर्गत पर्ने विभिन्न देशमा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको उनले बताए।

गत हप्ता मात्रै युरोपेली क्षेत्रमा दश लाख ८० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका थिए भने २४ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको थियो।

“कोरोना भाइरसबाट मृत्यु भएका र सङ्क्रमित भएकाको यो सङ्ख्या अनुमान गरेभन्दा धेरै र फरक हो,” क्षेत्रीय निर्देशक क्युगले भने।

उनले आगामी दिनमा पनि कल्पना गरेभन्दा तीव्र गतिमा महामारी फैलिन सक्ने भएकाले उच्च सतर्कता अपनाउनु पर्ने र हेलचक्रयाई गर्न नहुनेमा जोड दिए।

प्रकाशित: १९ कार्तिक २०७८ १५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App