८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कोरोना भाइरसको उत्पत्ति स्थान पत्ता लगाउन नयाँ कार्यदल गठन

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको उत्पत्ति स्थान पत्ता लगाउ नयाँ कार्यदल गठन गरेको छ। चीनको वुहान सहरमा डेढ वर्षभन्दा बढी समयअघि पत्ता लागेको कोरोनाभाइरस पहिलोपटक कहाँ उत्पत्ति भयो भन्ने कुरा अझै स्पष्ट हुनसकेको छैन।

डब्ल्यूएचओले ‘साइन्टिफिक एड्भाइजरी ग्रुप अन ओरिजिन्स अफ नोबल प्याथोजिन्स’को लागि २६ जना विज्ञको नाम तय गरेको छ। बीबीसीका अनुसार डब्ल्यूएचओले सो कार्यदलको काम कोरोनाभाइरस उत्पत्तिको स्थान पत्ता लगाउने अन्तिम मौका हुन सक्ने जनाएको छ।

आपत्कालीन मामिलासम्बन्धी डब्ल्यूएचओका निर्देशक माइकल रायनले नयाँ अनुसन्धान टोलीको काम कोरोनाभाइरसको उत्पत्ति स्थानबारे बुझ्ने अन्तिम मौका हुन सक्ने बताएका छन्।

डब्ल्यूएचओको टोलीले कोरोनाभाइरस वुहानमा जनावरबाट मानवमा सरेको अथवा दुर्घटनावश प्रयोगशालाबाट ‘लिक’ भयो (चुहियो) भन्नेबारे अनुसन्धान गर्नेछ। चीनले भने प्रयोगशालाको कुरालाई कडा शब्दमा खण्डन गर्दै आएको छ।

गत फेब्रुअरीमा डब्ल्यूएचओकै एउटा अनुसन्धान टोली चीन पुगेको थियो। टोलीले कोरोनाभाइरस सम्भवतः चमेरोबाट मानिसमा सरेको निष्कर्ष निकालेको थियो। तर, त्यसका लागि थप काम गर्नुपर्ने औँल्याएको थियो।

पछि डब्ल्यूएचओका महानिर्देशक ट्रेडोस एड्हानोम गहब्रयससले तथ्यांकको अभाव र चीन पारदर्शी नहुँदा अनुसन्धान प्रभावित भएको बताएका थिए । प्रस्तावित नयाँ अध्ययन टोलीमा यसअघि चीन गएको टोलीमा संलग्न ६ जना विज्ञ पनि समावेश छन्।

यसका साथै टोलीले अतिजोखिमयुक्त अरू ‘प्याथोजिन्स’को उत्पत्तिको बारेमा पनि अध्ययन गर्नेछ। भविष्यमा महामारी फैलिनबाट रोक्नका लागि नयाँ प्याथोजिन्सहरू कहाँबाट आउँछन् भन्ने कुरा थाहा पाउनु महत्त्वपूर्ण हुने महानिर्देशक टेड्रोसको भनाइ छ। 

प्रकाशित: २८ आश्विन २०७८ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App