६ कार्तिक २०७८ शनिबार
अन्तर्राष्ट्रिय

सिड्नीमा लकडाउन अन्त्य

अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि लकडाउन अन्त्य भएको छ। कोरोना भाइरसको महामारीका कारण लागू गरिएको लकडाउन झण्डै चार महिनापछि अन्त्य गरिएको अधिकारीहरुले जनाएका छन्।

अहिले महामारीको असर र खतरा कम भएकाले लकडाउनको आवश्यकता नरहेको ठहर गदै अन्त्य गरिएको अधिकारीहरुको भनाइ छ।

देशको सवैभन्दा ठूलो शहर मानिने सिड्नीमा झण्डै ५० लाख मानिस बसोबास गर्दछन्। यति धेरै मानिस प्रभावित हुनेगरी सिड्नीमा लामो समयसम्म लकडाउन लगाइएको भन्दै विरोध समेत भएको थियो। सिड्नी समेत पर्ने न्यु साउथ वेल्स प्रदेशमा सोमबार मात्रै ४९६ जना सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ। ती मध्ये ७० प्रतिशतभन्दा बढीले दुवै खोप लगाएको पाइएको पनि अधिकारीहरुले जनाएका छन्।  

झण्डै चार महिनापछि लकडाउन अन्त्य भएको पहिलो दिनलाई कतिपयले स्वतन्त्रता दिवसको संज्ञा पनि दिएका छन्। उनीहरुले लकडाउन अन्त्य भएपछि धेरै खुशीयाली र स्वतन्त्रताको अनुभूति भएको बताएका छन्। लकडाउन अन्त्य भएसँगै पसलहरु खुल्न थालेकाले अधिकांशले पसलमा किनमेल गर्ने मौकाको रुपमा पनि लिएका छन्। त्यसैगरी व्यापार गर्नेहरुले पनि आफ्नो व्यापार गर्ने मौकाको रुपमा प्रयोग गरेको देखिएको छ।

गत जुनदेखि सिड्नीका पसल, विद्यालय, सैलुन र कार्यालयहरु बन्द भएका थिए। अत्यावश्यक सेवा भने सञ्चालिन नै थिए।  त्यसैगरी अत्यावश्यक सामग्री किनमेल गर्नका लागि पनि घरदेखि पाँच किलोमिटर भन्दा टाढा जान नपाइने व्यवस्था गरिएको थियो।

महामारी नियन्त्रणका लागि अष्ट्रेलियाको केन्द्रीय र प्रदेश सरकारहरुले पनि सिमानाका बन्द गर्ने, लकडाउन गर्ने, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउने र तिव्र रुपमा कोरोना परीक्षण गराउने लगायतका कार्य गर्दै आएका थिए।

प्रकाशित: २५ आश्विन २०७८ १६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App