१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकामा गोरिल्लालाई कोभिड–१९ उपचार

प्रारम्भिक परीक्षणले कोरोना भाइरस संक्रमण भएको देखिएपछि अमेरिकाका एटलान्टा चिडियाखाना (जु एटलान्टा) मा रहेका गोरिल्लाको उपचार सुरु भएको छ। चिडियाखानाले संक्रमणबाट निको भएपछि ती गोरिल्लालाई खोप लगाउने तयारीसमेत गरेको छ।  

खोकी लाग्ने, नाकबाट सिगान बग्ने तथा खानाको रुचिमा परिवर्तनजस्ता लक्षण देखिएपछि ती गोरिल्लाको परीक्षण गरिएको थियो। परीक्षणपछि ती गोरिल्ला संक्रमित भएको देखिएको थियो। चिडियाखानाका अधिकारीले संक्रमणको थप पुष्टिका लागि संकलित नमुना परिक्षणका लागि आयोवा राज्यको एम्समा रहेको नेसनल भेटेरिनरी सर्भिस नामक प्रयोगशालामा पठाइएको बताएका छन्। 

जु एटलान्टाका प्रवक्ता रासेल डेभिसका अनुसार आइतबार एक गोरिल्लामा डेल्टा भाइरस संक्रमण भएको रिपोर्ट आएको थियो। थप रिपोर्ट केही दिनमा आउने ती प्रवक्ताले बताए। चार समूहका कुल २० गोरिल्लामा गरिएको प्रारम्भिक परीक्षणले भाइरस संक्रमण भएको देखिएको र १८ गोरिल्लामा हाच्छ्युँ आउने, नाकबाट पानी बग्ने, खोकी, खानामा अरुचि तथा नियमित क्रियाकलापमा कमी जस्ता लक्षण देखिएका छन्।  

‘हामी संक्रमितको अनुगमन गरिरहेका छौं र उनीहरू छिट्टै निको हुने आशा गरेका छौं,’ उपचारमा संलग्न चिडियाखानाका वरिष्ठ निर्देशक साम रिभेराले भने। उनले गोरिल्लाहरूले अत्यन्त राम्रो उपचार पाएका र थप उपचार आवश्यक परे पनि चिडियाखाना तयार रहेको बताए। चिडियाखानामा रहेका सबै गोरिल्लाको परीक्षण गरिने बताइएको छ। यी गोरिल्लाको उपचारपछि जनावरका लागि निर्माण गरिएको खोप लगाउने तयारी रहेको चिडियाखानाले जनाएको छ। 

मानिसबाहेक अन्य जनावरमा पनि कोरोना भाइरस संक्रमण हुनसक्ने भएकाले अमेरिकामा जनावरलाई पनि खोप लगाउन सुरु गरिएको छ। सान डियागो जु वाइल्डलाइफ एलाएन्सका अनुसार भेटेरिनरी औषधि उत्पादक कम्पनी जोइटिसले गत मार्चमा गोरिल्लामा प्रयोगात्मक रुपमा खोप परीक्षण गरेको थियो। गत जुलाईमा ९ वर्षको एक पुरुष चितुवामा कोरोना भाइरस संक्रमण देखिएको थियो  

ओकल्यान्डको चिडियाखानाले जोइटिस कम्पनीको खोप बाघ, भालु, पहाडी सिंहलगायत जनावरलाई लगाएको थियो। जु एटलान्टाले पनि जोइटिसको खोप लगाउन अनुमति पाइसकेको बताएको छ। अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण (सिडिसी)ले संक्रमित मानिसको सम्पर्कमा आएका जनावरमा भाइरसको संक्रमण भएको देखिएको बताएको छ।  

जु एटलान्टाका गोरिल्ला कसरी बिरामी भए भन्ने प्रस्ट नभए पनि जनावरको रेखदेखमा खटिएकाबाट भाइरस सरेको हुनसक्ने अनुमान गरिएको छ। रेखदेखमा खटिएका कर्मचारीले व्यक्तिगत सुरक्षाका साधन (पिपिई) लगाएका थिए र ती कर्मचारीमा रोगको कुनै लक्षण नदेखिएको चिडियाखानाले जनाएको छ। टाढाबाट अवलोकन गरिने भएकाले चिडियाखानामा जनावर हेर्न आउनेबाट कुनै जोखिम नरहेको बताइएको छ।  

चिडियाखानाका वरिष्ठ निर्देशक साम रिभेराले सावधानी अपनाउँदा अपनाउँदै पनि जनावरमा संक्रमण देखिनु चिन्ताको विषय रहेको बताएका छन्।  

प्रकाशित: ३० भाद्र २०७८ ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App