७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

तालिवानकाे शिक्षा नीतिः छात्र र छात्रालाई एउटै कक्षामा बस्न नदिने

अफगानिस्तानमा तालिवानी समूहले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ। तालिवानको सत्ता आएपछि छात्रालाई विश्वविद्यालय जान प्रतिबन्ध लगाउने आशंकाका बीच उनीहरुले विश्वविद्यालय जान दिने बताएका हुन्। तर एउटै कोठामा छात्रा र छात्रलाई सँगै राख्न भने नपाइने तालिवान सरकारका उच्च अधिकारीहरुले जनाएका छन्।

विश्वविद्यालयहरुमा महिलालाई पुरुषहरुभन्दा छुट्टै राख्न तालिवान सरकारका नयाँ शिक्षा मन्त्रीले निर्देशन दिएका छन्। विश्वविद्यालयमा छात्रालाई पनि जान दिने निर्णयलाई तालिवानको यसअघि सन् १९९६ देखि २००१ सम्मको शासन व्यवस्थाभन्दा लचक हुने संकेतका रुपमा लिइएको छ।  

अघिल्लो शासनकालमा अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा जान प्रतिबन्ध लगाइएको थियो। विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा पोसाकसम्बन्धी नयाँ नियम लागु पनि गरिने तालिबानले जनाएको छ।

उच्च शिक्षासम्बन्धी मन्त्री अब्दुल बाकी हक्कानीले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि जानकारी दिए। तालिवानले महिलाहरूलाई शिक्षा र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ। तर गत अगस्ट १५ मा सत्ता आफ्नो हातमा लिएसँगै तालिबानले सुरक्षा अवस्थामा सुधार नआएसम्म स्वास्थ्यकर्मीबाहेक अन्य महिलालाई कामबाट टाढै बस्न निर्देशन दिएको छ।

तालिवानको अघिल्लो पटकको आफ्नै शासनकालमा भन्दा केही लचक भएपनि निवर्तमान सरकारभन्दा अहिलेको सरकार कठोर देखिएको छ।  

तालिवानले झण्डै एक महिनाअघि निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको थियो। प्रदेश राजधानीहरु कब्जा गर्दै केन्द्रीय राजधानी कब्जा गर्न लागेपछि तत्कालिन राष्ट्रपति अशरफ घानीले देश छोडेर भागेपछि सत्ता तालिवानको हातमा आएको हो।  

तालिवानले अहिले कामचलाउ सरकार बनाएका छन् भने अरु धेरै कामहरुमा अन्यौल देखिएको छ।

प्रकाशित: २८ भाद्र २०७८ ०९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App