८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

तालिवानले गरे गर्भवती प्रहरीको हत्या

अफगानिस्तानमा तालिवान लडाकूले एक गर्भवती प्रहरी अधिकारीको गोली हानी हत्या गरेका छन्। अफगानिस्तानमा महिलाविरुद्ध बढ्दो हिंसाका खबरबीच पछिल्लो हत्या सार्वजनिक भएको छ।

मध्ये घोर प्रान्तको राजधानी सहर फिरोजकोहमा घरमै पुगेर बानु नेगार नाम गरेकी ती महिलाको तालिवान लडाकूले हत्या गरेका हुन्। आफन्तकै अगाडि महिलाको हत्या भएको जनाइएको छ।

एउटा स्थानीय जेलमा काम गर्ने नेगार आठ महिनाकी गर्भवती थिइन्। शनिबार तीन जना बन्दूकधारी उनी बसेको घरमा पुगेका थिए। आक्रमणकारीले अरबी भाषा बोलेको साँक्षीले बताएका छन्।

नेगारलाई तालिवानले शनिबार श्रीमान र सन्तानकै अगाडि नै कुटेर हत्या गरेका थिए। आफन्तले हत्या गरिएको कोठाको भित्तामा लतपतिएको रगतको टाटाको तस्बिर सार्वजनिक गरेका छन्।

नेगारको हत्यामा आफ्ना लडाकूहरुको संलग्नता नभएको र त्यसबारे अनुसन्धान भइरहेको तालिवानले जनाएको छ। तालिवान प्रवक्ता जाबिउल्लाह मुजहिदले भने, ‘घटनाबारे हाम्रो चासो बढेको छ। उनको हत्यामा तालिवानको संलग्नता नरहेको म प्रष्ट गर्न चाहन्छु। यसबारे अनुसन्धान भइरहको छ।’ पूर्वअफगान सरकारमा काम गर्ने सबै जनालाई आममाफी दिइसकेको उल्लेख गर्दै उनले नेगारको हत्याको कारण व्यक्तिगत दुस्मनी हुन सक्ने बताए।

१५ अगस्टमा काबुल कब्जामा लिएपछि तालिवानले महिलाप्रति केही सहिष्णु बन्ने घोषणा गरे पनि उनीहरूका गतिविधि झनै पाशविक देखिएको छ। लडाकूले महिला हत्याका घटना र अल्पसंख्यकमाथिको दमन बढेको बताएका छन्।

प्रकाशित: २१ भाद्र २०७८ ०७:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App