८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अझै तालिबानको कब्जाबाहिर पन्जसिर उपत्यका

अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिएपछि गस्ती गर्दै तालिबान लडाकु । फाइल तस्बिर

अमेरिका नेतृत्वको नेटो फौजले झन्डै दुई दशकपछि अफगानिस्तान छाड्यो। त्यसको एक सातामै विद्रोही समूह तालिबानले राजधानी काबुलसहित अफगानिस्तानलाई नियन्त्रणमा लिएको घोषणा गर्‍यो। अमेरिकी सेनाको तालिम र हतियारले सुसज्जित अफगानी सेनाले घेरिएको राजधानी काबुल पनि संघर्षबिनै तालिबानले कब्जामा लियो। राष्ट्रपति असरफ गनी देशै छाडेर भाग्नुपर्‍यो। तर, काबुलबाट करिब डेढ सय किलोमिटर दक्षिण पूर्वमा अवस्थित पन्जसिर उपत्यकालाई भने तालिबानले अझै नियन्त्रणमा लिन सकेको छैन। तालिबानविरुद्धको गढ मानिने सो क्षेत्रलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको बताइएको छ ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले आफ्ना लडाकुहरूले पन्जसिर उपत्यकालाई तीनतर्फबाट घेरेको तर शान्तिपूर्ण ढंगले समस्या समाधान खोजिरहेको बताएका छन्। तालिबानविरोधी शक्ति मानिने पूर्वसरकारका उपराष्ट्रपति अमरुल्ला सलेहले पनि तालिबानले पन्जसिर उपत्यकालाई घेर्न लडाकुहरूलाई एकीकृत गरिरहेको दाबी गरेका छन्। साथै उनले पन्जसिर र आसपासका क्षेत्रमा तालिबानी लडाकुलाई बचेर हिँड्न पनि सुझाएका छन्। 

समाचार एजेन्सी एएफपीले अफगानिस्तानका पूर्वसरकारी सेनाका प्रवक्तालाई उद्धृत गर्दै पन्जसिर तालिबानसँग लामो संर्घषका लागि तयार रहेको जनाएको छ। तालिबानले बगलान प्रान्तमा बानुसहित तीन जिल्लामा कब्जा गरेको दाबी गरिरहँदा विरोधी समूहले भने ३ सय तालिबान लडाकु मारेको दाबी गरेको छ। तालिबानले भने त्यसलाई अस्वीकार गरेको छ । तालिबानका लागि पन्जसिर उपत्यका अन्तिम चुनौती बनेर खडा भएको छ। यस क्षेत्रलाई तालिबानसहित बाँकी विश्वले पनि चासोका साथ हेरिरहेको छ। हिन्दुकुश पहाडले घेरिएको यो क्षेत्र तालिबानविरोधी शक्तिकेन्द्रका रूपमा चिनिएको छ। यो क्षेत्रलाई अहमद मसुदको गढ मानिन्छ। उनी सोभियत संघ तथा तालिबानविरोधी नेता अहमद साह मसुदका छोरा हुन्।  

२००१ सेप्टेम्बरमा आतंकवादी समूह अलकायदा तथा तालिबानी विद्रोही समूहद्वारा उनका बाबुको हत्या भएको थियो। त्यतिबेलासम्म आफ्नो बलियो प्रभाव बनाएकाले उनलाई पन्जसिरका सिंहको उपनाम दिइएको थियो। बाबुको हत्यापछि अहमद मसुदले सो क्षेत्रमा नेतृत्व लिए। बाबुको पथलाई पछ्याउँदै उनले त्यहाँ आफ्नो प्रभाव जमाइरहेका छन्। अहमद साह मसुदले पनि सन् १९८० मा भएको सोभियत–अफगान युद्ध तथा सन् १९९० मा भएको तालिबान गृहयुद्धका बेला पनि त्यस क्षेत्रलाई हस्तक्षेपबाट बचाएका थिए ।

अहिले आफ्ना बाबुले जस्तै अहमद मसुदले पनि अफगानिस्तान कब्जा गरिसकेको तालिबानको पहुँच आफ्नो क्षेत्रमा पुग्न दिएका छैनन्। उनले तालिबानसँग लड्न आफू तयार रहेको बताएका छन्। उनले आफ्ना बाबुको पदचाप पछ्याउने भन्दै त्यसका लागि हतियार उपलब्ध गराउन अमेरिकासँग आग्रह गरेका छन्। उनले गत बुधबार अमेरिकी अखबार दी वासिङ्टन पोस्टमा एक लेख प्रकाशित गर्दै अमेरिकाले आफ्ना सैनिकलाई सहयोग गरेर लोकतन्त्रका पक्षमा उदाहरण पेस गर्न सक्ने बताएका छन्। उनले तालिबानसँग लड्न आफ्ना लडाकुहरू तयार रहेको तर त्यसका लागि अमेरिकी सहयोग आवश्यक रहेको बताएका छन् ।

प्रकाशित: ८ भाद्र २०७८ ००:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App