coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अध्ययन भन्छः भारतमा ५० प्रतिशतले अझै मास्क लगाउँदैनन्

भारतमा अहिले पनि झन्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार एक अध्ययनले अझै पनि ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको देखाएको छ।

राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले भने, ‘हालैको एक अध्ययनबाट झन्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ।’

उसले मास्क लगाउने गरेकाहरूमध्ये पनि झन्डै ६४ प्रतिशतले पर्याप्त रूपमा नाक नछोप्ने गरेको पाइएको समेत जानकारी दिए। देशका नौ राज्यमा अहिले पनि ५० हजारदेखि एक लाखबीचमा सक्रिय सङ्क्रमितहरू रहेको पनि उसले बताए।

सहसचिव अग्रवालका अनुसार अरू १९ राज्यमा भने ५० हजारभन्दा कम सक्रिय सङ्क्रमितहरू छन्। कर्नाटक, पश्चिम बंगाल लगायतका केही राज्यमा २५ प्रतिशतभन्दा बढीमा सङ्क्रमण नै देखिने गरेको उसले बताए ।

‘कुनै एउटा व्यक्तिले सामाजिक दूरी कायम गरेन भने औसतमा एक महिनामा ४ सय ६ जनालाई सङ्क्रमित गराउन सक्ने देखिएको छ,’ उसले भने । अध्ययनका आधारमा पनि उसले सामाजिक दूरी कायम गर्न र मास्क लगाउन अति आवश्यक रहेकोमा जोड दिए।

भारतमा कोरोना भाइरस महामारीको सङ्क्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन। विगत २४ घण्टामा थप चार हजार २०९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो सहित भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट २ लाख ९१ हजार ३३१ जनाको मृत्यु भएको छ। भारतमा बढी घातक मानिएको कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता दैनिक चार हजारको हाराहारीमा सङ्क्रमितको मृत्यु भइरहेको छ।

भारतमा कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या सरकारले सार्वजनिक गरेको विवरणभन्दा बढी हुनसक्ने विज्ञहरूको दावी छ।

भारतमा पछिल्ला केही दिनदेखि सङ्क्रमितको संख्या भने घटेको देखिएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ५९ हजार ५९१ जना नयाँ सङ्क्रमित देखिएका छन् भने ३ लाख ५७ हजार २९५ जना सङ्क्रमणमुक्त पनि भएका छन्।

भारतमा अझै पनि ३० लाख २७ हजार ९२५ जनामा सक्रिय सङ्क्रमण छ । भारतमा कोभिड देखिएयता २ करोड ६० लाख ३१ हजार ९९१ जना सङक्रमित भेटिएका र त्यसमध्ये २ करोड २७ लाख १२ हजार ७३५ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रकाशित: ७ जेष्ठ २०७८ १४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App