७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकामा आपत्: विश्व जगतले गर्‍यो भत्सर्ना, बाइडेनको जितलाई कंग्रेसको आधिकारिकता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा अमेरिकाको संसद् भवन रहेको क्यापिटोल भवनतर्फ जाँदै रिपब्लिकन पार्टीका कार्यकर्ता। तस्बिर : सिन्ह्वा/रासस

निर्वाचनलाई लोकतन्त्रको आत्मा भनिन्छ। त्यसैले लोकतान्त्रिक व्यवस्थामा जनअभिमत प्राप्त व्यक्तिलाई मुलुकको शासन व्यवस्थाको बागडोर सुम्पने गरिन्छ। विश्वभर अभ्यास भइरहेको लोकतान्त्रका सन्दर्भमा विश्वशक्तिका रूपमा हेरिने अमेरिकाको अभ्यासलाई उच्चतम र उदाहरणीय व्यवस्था मानिन्छ। त्यस्तो उच्चतम व्यवस्था भएकै ठाउँमा निर्वाचन प्रणालीबाट चुनिएका बहालवाला राष्ट्रपतिले नै व्यवस्थामाथि हमला गर्छन् भने बाँकी विश्वले के अपेक्षा गर्ला ? केही समयअघि सम्पन्न राष्ट्रपतीय निर्वाचनमा हारेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई आधिकारिकता दिने प्रक्रियामा समर्थकमार्फत हमला गराएका छन्। बुधबार बिहानै ट्रम्पले ह्वाइटहाउस बाहिर समर्थकहरूको र्‍यालीलाई सम्बोधन गर्दै क्यापिटोलमाथि हमलाका लागि उक्साएका थिए।  

वासिङ्टन डिसीस्थित अमेरिकी संसद् भवनमा इलेक्ट्रोल भोटलाई आधिकारिकता दिइरहेका बेला ट्रम्प समर्थकबाट एकाएक हमला भएपछि त्यसलाई रोक्न प्रहरीले बल प्रयोग गर्दा चारजनाको निधन भएको छ। निर्वाचनको नतिजा स्वीकार गर्न नसकेका ट्रम्पले समर्थकमार्फत हिंसा निम्त्याएका हुन्। उनका समर्थकले संसद् भवन क्यापिटोललाई केही समय नियन्त्रणमा लिएका थिए।

उनको उक्त कदमप्रति विश्वभरबाट आलोचना भइरहेको छ। उनकै उपराष्ट्रपति माइक पेन्सले समेत घटनाको भत्र्सना गरेका छन्। उनले क्यापिटोलमा भएको आक्रमणलाई अमेरिकी इतिहासको अँध्यारो दिनका रूपमा सूचित हुने बताएका छन्। ‘आज क्यापिटोलमा भएको हिंसाको भत्सर्ना गर्छाैं,’ उनले भनेका छन्। पेन्सले शान्तिपूर्ण प्रदर्शन सबै अमेरिकीको अधिकार भए पनि क्यापिटोलमा भएको आक्रमण स्वीकार्य नहुने बताएका छन्। उनले घटनामा संलग्नहरूमाथि कानुनअनुसार कारबाहीको मागसमेत गरेका छन्।  

जर्मन चान्सलर एन्जेला मर्केलले अमेरिकी संसद्मा हमला गर्नेहरूप्रति आक्रोश व्यक्त गर्दै ट्रम्पले अहिलेसम्म पनि हार स्वीकार गर्न नसकेको भन्दै अपशोच व्यक्त गरेकी छन्। उनले ट्रम्पले निर्वाचन प्रणालीप्रति नै सन्देह उत्पन्न गराएको आरोप लगाएकी छन्। स्पेन, फ्रान्स, स्विडेन, युरोपियन युनियनका नेताहरूले पनि उक्त घटनाप्रति दुःख व्यक्त गर्दै भत्र्सना गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले अमेरिकी संसद्मा भएको हमलाले दुःखी भएको बताएका छन्। उनले हिंसाले जनचाहनामाथि राज गर्न सफल नहुने बताउँदै अमेरिकामा प्रजातन्त्रलाई यथावत् राख्नुपर्ने र त्यही नै हुने बताएका छन्।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वासिङ्टन डिसीमा भएका आक्रमण र हिंसाको समाचारले आफूलाई दुःखी तुल्याएको बताएका छन्। उनले कानुनसम्मत र शान्तिपूर्ण तरिकाले शक्ति हस्तान्तरणले निरन्तरता पाउनुपर्नेमा जोड दिँदै प्रजातान्त्रिक प्रक्रियालाई गैरकानुनी र विरोध प्रदर्शनमार्फत विकृत बनाउन नसक्ने बताएका छन्। सन् २०१७ मा निर्वाचन प्रक्रियाबाटै सत्तारोहण गरेका ट्रम्पले त्यसयता एकपछि अर्काे गर्दै विवादित र गैरजिम्मेवारी अभिव्यक्ति दिँदै आएका थिए। जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतालगायत महत्वपूर्ण सम्झौताबाट पछि हटेका ट्रम्पले कार्यकालको उत्तराद्र्धलाई पनि विवादमुक्त बनाउन सकेनन्। निर्वाचन हारेपछि पनि त्यसलाई स्वीकार नगरी आफू नै निर्वाचित भएको लोकतान्त्रिक प्रणालीमाथि नै प्रश्न उठाउँदै अन्ततः प्रशंसकमार्फत संसद् भवनमाथि हमला गराएका छन्।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार अमेरिकाको संसद् भवनमा भएको हिंसात्मक घटनाले आफू स्तब्ध भएको बताएका छन्। युएस कंग्रेसमा भएको निर्लज्ज दृश्य देखेर आफू स्तब्ध भएको जनाउँदै देउवाले बिहीबार दिउँसो ट्विटमा लेखेका छन्, ‘अमेरिकी जनताले आफ्नो मत जाहेर गरिसकेका छन्। अर्को सरकारलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्नुपर्छ। हामी सबै अमेरिकी नागरिकका आगामी दिन शान्तिपूर्ण होऊन् भन्ने कामना गर्छौं।’

बाइडेनको जितलाई कंग्रेसद्वारा अनुमोदन  

गत नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विजयी भएका राष्ट्रपति जो बाइडेनलाई अमेरिकी कंग्रेसले आधिकारिकता दिएको छ। ट्रम्प समर्थकले क्यापिटोलमा गरेको आक्रमणको केही घन्टापछि अमेरिकी कंग्रेसले उनको विजयीलाई प्रमाणीकरण गरेको हो। कंग्रेसले बाइडेनको विजयीलाई आधिकारिकता दिइएलगत्तै ट्रम्पले निर्वाचनको नतिजाप्रति असहमति नै रहे पनि जनवरी २० मा शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्। समर्थकहरूले क्यापिटोलमा आक्रमण गरेलगत्तै ट्रम्पले ट्विटरमा भिडियो राख्दै निर्वाचनमा धाँधली भएको दोहोर्‍याएका थिए।

भिडियोमार्फत उनले आफ्ना समर्थकहरूलाई घर फर्किन पनि आग्रह गरेका थिए। उनले निर्वाचनमा धाँधली भएको दोहोर्‍याउँदै आक्रमणको घटनालाई समर्थन जनाएपछि ट्विटर र फेसबुकले उनको एकाउन्ट १२ घन्टाका लागि बन्द गराइदिएका छन्। ट्विटरले ट्रम्पले पछिल्लोपटक गरेका ट्विट डिलिट नगरेसम्म एकाउन्ट बन्द रहने जनाएको छ।

प्रकाशित: २४ पुस २०७७ ००:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App