७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

कोरोना भाइरसः बाइडनले पद सम्हालेको सय दिनमा १० करोडलाई खोप दिने बाचा

अमेरिकी राष्ट्रपति/निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन्।

उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबिचमा कोभिड-१९ को बाटो भने मोड्ने बताए। उनले आफ्ना रणनीतिबारे थप बताएका छैनन्।

२० जेनवरीमा कार्यकाल सुरु गर्दाका लागि उनको साथमा हुने आफ्नो स्वास्थ्य कार्यदललाई परिचय गराउँदै बाइडनले अमेरिकीलाई '१०० दिनसम्म मास्क लगाउन' आग्रह गरे। मङ्गलवार नै अमेरिकी नियामकले फाइजररबायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ।

त्यसले अब उक्त खोप आपत्कालिन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खोलेको छ।

खाद्य तथा औषधि निकाय एफडिएले सुरक्षाका कारण फाइजररबायोएनटेकको खोपलाई स्वीकृति दिन रोक्नुपर्ने कुनै कारण नभेटिएको जनाएको हो। यूकेमा गतसाता स्वीकृति दिएर धेरै जनामा लगाउन सुरु गरिसकिएको यो खोपबारे अमेरिकाले पहिलोपटक यो तहमा बोलेको हो।

औपचारिक निर्णयका लागि एफडिएले बिहीवार एउटा बैठक गर्दैछ। एफडिएको एउटा प्रकाशनमा सो खोपका परीक्षणका विवरण 'भरपर्दो' रहेको उल्लेख गरिएको छ।

अमेरिका र यूके दुवै देशलाई उत्पादकहरूले खोपको सुरक्षा र प्रभावकारिताबारेको विशिष्ठ तहका जानकारी उपलब्ध गराइएका थिए।

गतसाता अमेरिकाका शीर्ष सङ्क्रामक रोगविज्ञ डा एन्थोनी फाउचीले यूकेको खोप स्वीकृति दिने प्रक्रियाको आलोचना गरेको देखिएको आफ्नो भनाइका लागि माफी मागेका थिए।

पछि उनले बीबीसीसँग अमेरिकी प्रक्रियाले 'यूकेको भन्दा बढ्ता समय लिने सत्यता रहेको' भन्दै आफूले त्यो जसरी स्वीकृत भएर आयो त्यसलाई आफूले खराब नठानेको बताएका थिए।

एफडिएले प्रकाशित गरेको विस्तृत सामग्रीमा उसले उत्पादक कम्पनी फाइजरले भने जत्तिकै ९५ प्रतिसत प्रभावकारी रहेको जनाएको हो। तर पूर्ण सुरक्षाका लागि दुईवटै डोज आवश्यक पर्ने एफडिएले जनाएको छ।

पहिलो डोजले निकै गम्भीर घटनामा ८९ प्रतिसत सुरक्षा दिने उसले जनाएको छ। र खोपले कोभिड सङ्क्रमित भइसकेकालाई जत्तिकै यस खोपले सुरक्षा दिने बताइएको छ।उसले यो खोप लिनेले धेरै व्यहोर्ने समस्या भनेको दुस्खाई, खोप लगाइने भाग पाखुरामा रातो डाम र सुन्निने समस्याहरू देखिन सक्ने जनाएको छ।

त्यसपछि छोटो समयका लागि थकान, टाउको दुख्ने र मासु दुख्ने समस्या समेत देखिन सक्छ। तर यी सामान्य प्रभाव बाहेक अध्ययन गरिएको बेला खोप लगाइएका र नियन्त्रित समूहका व्यक्तिहरूबिचमा स्वास्थ्य अवस्थामा कुनै उल्लेख्य फरक देखिएको थिएन।

गर्भवती महिला र १६ वर्ष मुनिका बालबालिकाहरूमा यसको जाँच नगरिएकाले त्यो उमेर समूहमा त्यसले अझै स्वीकृति पाउने काम बाँकी छ।

राष्ट्रपति ट्रम्पले अमेरिकामा निर्मित खोपमा अमेरिकी नागरिकहरूलाई पहिलो प्राथमिकता दिइने काम सुनिश्चित गर्नका लागि एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।अन्य देशमा खोप पठाउने सम्झौता गरिसकेका उत्पादकहरूका हकमा उक्त आदेशले कसरी काम गर्छ भन्ने अझै स्पष्ट छैन।

उनले केही दिनमा नियामक खाद्य तथा औषधि निकायले खोपको प्रयोगका लागि स्वीकृति दिनेमा आफू आशावादी भएको बताए। उनले धेरैलाई एकसाथ खोप लगाउनका लागि अधिकारीहरू तम्तयार भएर बसेको बताए। बीबीसी

प्रकाशित: २४ मंसिर २०७७ ०५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App