१ जेष्ठ २०७८ शनिबार
अन्तर्राष्ट्रिय

सेरम खोपको आवेदन

अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि कम्पनी अस्ट्राजेनेकासँगको सहकार्यमा विकास भइरहेको कोरोना खोपको अनुमोदनका लागि भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले आवेदन दिएको छ। सो इन्स्टिच्युटका प्रमुख कार्यकारी अदर पुनावालाले सोमबार ट्विटरमार्फत अनुमोदनका लागि आवेदन गरेको जानकारी दिएका हुन्।

‘सन् २०२० को अन्त्यअघि नै खोप निर्माण गर्ने प्रतिबद्धताअनुरूप सेरम इन्डियाले भारतमा बनेको कोभासिल्ड खोपको आपत्कालीन प्रयोग अनुमतिका लागि आवेदन दिएको छ,’ उनले लेखेका छन्। यसअघि अमेरिकी कम्पनी फाइजरले निर्माण गरेको खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाइसकेको छ। बेलायतले यही सातादेखि व्यापक खोप अभियान सुरु गर्दैछ। सेरम इन्स्टिच्युटद्वारा निर्माण गर्न लागिएको यो खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिने भएकाले ग्रामीण क्षेत्रमा सजिलै पुर्‍याउन सकिन्छ। 

अमेरिकी कम्पनी फाइजरको खोपलाई भने माइनस २० डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ। समाचार संस्था अलजजिराका अनुसार सेरम इन्स्टिच्युटले भारतका औषधिसम्बन्धी नियामक निकाय ‘ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया’ समक्ष अनुमोदनका लागि आवेदन दिएको हो।यसअघि अमेरिकी कम्पनी फाइजरले भारतमा प्रयोग गर्न अनुमतिका लागि शनिबार आवेदन दिइसकेको छ। डब्लुएचओ, विश्वव्यापी भ्याक्सिन सञ्जाल ‘गाभी’, महामारीविरुद्धको गठबन्धन ‘सेपी’ को सहकार्यमा स्थापना गरिएको ‘कोभ्याक्स सुविधा’ अन्तर्गत नेपालसहित ९२ वटा निम्न तथा मध्यम आय भएका राष्ट्रले सुरुमा ३ प्रतिशत र लगत्तै थप १७ प्रतिशत गरी कुल २० प्रतिशत जनसंख्याका लागि खोप पाउनेछन्। कोभ्याक्स सुविधाअन्तर्गत हालसम्म तीनवटा खोप निर्माता कम्पनीसँग सम्झौता भइसकेको छ। जसमा अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाद्वारा संयुक्त रूपमा निर्मित, सानोफी तथा जिएसकेद्वारा निर्मित र सेरम इन्स्टिच्युट अफ इन्डियाद्वारा विकास भइरहेका खोप छन्।  

सेरम इन्स्टिच्युटद्वारा निर्माण गरिएको खोप कोभिड–१९ का गम्भीर बिरामीका लागि अत्यन्त सफल रहेको बताइएको छ। खोपको परीक्षण बेलायत, ब्राजिल र भारतमा गरिएको थियो। सेरमका प्रमुख कार्यकारी पुनवालाले खोपले अनगिन्तीको जीवनरक्षा गर्ने बताएका छन्। शुक्रबार आयोजना भएको एक सर्वदलीय बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही सातामै भारतीय खोप निर्माता कम्पनीले खोप निर्माण गर्न सुरु गर्ने बताएका थिए। गत महिना अस्ट्राजेनेकाले विश्वव्यापी परिक्षणले सो खोप ७० प्रतिशत प्रभावकारी रहेको बताएको थियो। विज्ञले व्यापक रूपमा खोप अभियान सञ्चालन गर्नुअघि वैज्ञानिक समीक्षा हुनु आवश्यक रहेको बताएका छन्।

‘सरकारले खोप अनुमोदन गर्नुअघि खोपको सफलताको तथ्यांक वैज्ञानिक शोधपत्रमा आउनुपर्छ। यो प्रक्रियालाई खोप निर्माता र सरकारले हतारले भन्दा विज्ञानले प्रमाणित गर्नुपर्छ,’ भारतको एम्स इन्सिच्युटको रेसिडेन्ट डाक्टर्स एसोसियनका पूर्वअध्यक्ष हरिजित सिंह भट्टले अलजजिरालाई भनेका छन्।

प्रकाशित: २३ मंसिर २०७७ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?