अस्ट्रेलियाले चीनलाई आफ्नो सरकारी ट्विटरमा आफ्नाविरुद्ध एक ‘फेक’ तस्बिर सेयर गरेको भन्दै माफी माग्न चेतावनी दिएको छ।
त्यस तस्बिरमा एक अस्ट्रेलियाली सैनिकले एक अफगानी बालकको हत्या गरिएको देखाइएको छ।
एक टेलिभिजन सम्बोधनमा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले त्यस्तो ‘घृणित’ तस्बिर सार्वजनिक गर्न लाज लाग्नुपर्ने टिप्पणी गरेका छन्।
यो यस्तो बेला भएको छ, जतिबेला दुई देशबीच राजनीतिक तनाव बढिरहेको छ।
त्यो तस्बिर केही अस्ट्रेलियाली सैनिकको युद्ध अपराधसँग सम्बन्धित थियो।
यस महिनाको सुरुवातमा एक रिपोर्टमा भनिएको छ– सन् २००९ देखि २०१३ बीच २५ जना अस्ट्रेलियाली सैनिकल ३९ अफगानी नागरिक र कैदीको हत्यामा संलग्न भएका थिए।
अस्ट्रेलियाली डिफेन्स फोर्स (एडिएफ) ले गरेको अनुसन्धानको व्यापक आलोचना भएको थियो। अहिले प्रहरीले यसको अनुसन्धान गरिरहेको छ।
सोमबार चीनको विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले हेरफेर गरेर बनाइएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरे, जसमा एक अस्ट्रेलियाली सैनिकले रगत लागेको चक्कु बोकेको देखिन्छ। जसमा एक बच्चाको काखमा एउटा भेडा छ।
अस्ट्रेलियन ब्रोडकास्ट्रि कर्पाेरेसनले आफ्नो रिपोर्टमा भनेको छ– ‘त्यो तस्बिरमार्फत अस्ट्रेलियाली सैनिकले दुई अफगानी किशोरको हत्या गर्न चक्कु लिएर बसेको निराधार कुरा जोडिएको छ।’
तर अनुसन्धान क्रममा यो पुष्टि गर्ने कुनै प्रमाण फेला नपरेको बिबिसीले लेखेको छ।
तस्बिरसहित ट्विटरमा लेखिेको छ– ‘अस्ट्रेलियाली सैनिकले गरेको अफगानी सर्वसाधारण र कैदीको हत्याबाट हामी दुःखी छौं। हामी यस किसिमको कुकृत्यविरुद्ध कडा निन्दा गर्छाैं र यसको जवाफदेहिताको माग गर्छाैं।’
जुन पोस्टलाई अस्ट्रेलियाका प्रधानमन्त्री मरिसनले ‘एकदमै घृणित र अपमानजनक’ भनेका छन्।
उनले भनेका छन्, ‘यस विषयमा चीन सरकारले निकै लाज मान्नुपर्ने हो।’
अस्ट्रेलिया सरकारले ट्विटरलाई उक्त पोस्टलाई ‘दुष्प्रचार’ भन्दै आफ्ना सबै प्लेटफर्मबाट हटाउन अपिल गरेको छ।
प्रकाशित: १५ मंसिर २०७७ ०८:०५ सोमबार