८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा फेरि भीषण युद्ध, हजारौं नागरिकको भागाभाग

अफगानिस्ताको हेलमन्द प्रान्तमा सरकारी सैनिक र तालिवान लडाकुबीच फेरि भीषण युद्ध सुरु भएको छ। जसका कारण त्यहाँका सयौं परिवार घर छाड्न बाध्य भएका छन्।  

बुधबार लडाइँ सुरु भएको तेस्रो दिन भएको छ। अफगानी सैनिक रणनीतिक रूपमा महत्वपूर्ण प्रान्तको राजधानी लश्कर गाहलाई तालिवानको हमलाबाट बचाउने कोसिस गरिरहेको छ।  

अघिल्लो महिना अफगानिस्तान सरकार र तालिबान समूहबीच शान्ति वार्ता सुरु भएको थियो। यसपछि दुई पक्षबीच पहिलोपटक ठूलो लडाइँ भइरहेको हो।  

अफगानी सेनाले तालिवानको हिंसाविरुद्ध प्रतिकार गरिरहेको छ भने त्यसमा अमेरिकी सेनाले पनि हवाई हमलामार्फत सहयोग गरिरहेको छ।  

भीषण लडाइँबीच हेलमन्द र पडोसी कान्धार प्रान्तमा विद्युत् बन्द भएको छ।  तालिवान समूहले सोमबार त्यहाँको एक पावर सबस्टेसनमा हमला गरेको थियो।  

धेरै स्थानमा सञ्चार पनि अवरुद्ध भएको छ। युद्धका कारण अहिलेसम्म ५ हजार परिवार अर्थात् करिब ३५ हजार जनाले आफ्नो घर छाडिसकेको बिबिसीले जनाएको छ। उनीहरूमध्ये धेरैले छिमेकीको शरण लिएको जनाइएको छ।  

कतिपय स्थानीयले भोकले नै मर्ने स्थिति आएको गुनासो गरेका छन्।  

स्थानीय अस्पतालका अनुसार घाइतेले अस्पताल भरिभराउ भएका छन्।  

तालिवान समूहले अफगानिस्तानको दक्षिणमा पर्ने रणनीतिक हिसाबले महत्वपूर्ण मानिने हेलमन्द प्रान्तमा हमला गरेर फेरि एकपटक अफगान सैनिक र अमेरिकाको प्रतिबद्धताको परीक्षा लिने कोसिस गरिरहेको छ।

यहाँ विचार गर्नुपर्ने कुरा के छ भने अफगानिस्तान सरकारले केही महिनाअघि अमेरिकासँग सम्झौता गरेको थियो।  

तर एकातर्फ तालिवानको हमला जारी छ भने अर्कातर्फ अमेरिकाको युद्धक विमानको हमला पनि जारी छ। यो वर्षको जाडो मौसम सुरु हुन लागेको छ र हिंसा पनि तीव्र हुने देखिएको छ।  

तालिवानको आक्रामक कारबाहीले शान्ति वार्ताप्रति उसको प्रतिबद्धतामा फेरि प्रश्न उठाएको छ।  

कैयौं महिनापछि कतारमा अफगानिस्तान–तालिवान शान्ति वार्ता सुरु भएको थियो। यो ऐतिहासिक शान्ति वार्ताको सुरुवातले अफगानिस्तानमा निकै आशा जगाएको थियो। तर हेलमन्द प्रान्तमा सुरु भएको युद्धले यो आशामा कालो बादल देखापरेको छ।  

प्रकाशित: २८ आश्विन २०७७ ०८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App