भारतमा पतिले धारिलो हतियारले पेट चिरिदिएकी एक गर्भवतीले मृत बच्चा जन्माएको प्रहरीले जनाएको छ। ती महिलाको माइती पक्षले शिशुको लिङ्ग पहिचान गर्न उनलाई आक्रमण गरिएको आरोप लगाएको छ।
ती दम्पतीका पाँच जना छोरी रहेका र ती पुरुषले छोरा जन्माउन पत्नीलाई दबाव दिने गरेको उनीहरूले बताएका छन्। पक्राउ परेका ती पुरुषले भने उक्त घटनालाई दुर्घटनाको सङ्ज्ञा दिँदै आफूले जानीजानी त्यस्तो कार्य नगरेको बताएका छन्।
घटना उत्तर प्रदेशको बदायूँ जिल्लाको हो।
प्रहरीले बीबीसीलाई बताए अनुसार पेट चिरिएकी महिलालाई राजधानी दिल्लीस्थित अस्पतालमा राखिएको छ र उनको स्वास्थ्य अवस्था स्थिर छ। उनकी बहिनीका अनुसार छोरा पाउने विषयलाई लिएर उक्त दम्पतीबीच नियमित रूपमा झगडा हुने गर्थ्यो।
उनका भाइका अनुसार स्वास्थ्य अवस्था निकै गम्भीर भएपछि चिकित्सकहरूको सल्लाहमा उनलाई दिल्ली पुर्याइएको थियो।
स्थानीय सञ्चारमाध्यमलाई ती पुरुषले धारिलो हतियार प्रहार गरेको तर त्यसले उनलाई गम्भीर चोट लाग्न सक्छ भन्ने कुरा भने नचिताएको बताएका छन्।
'मेरा पाँच छोरी छन्। एउटा छोराको मृत्यु भएको छ। बालबालिका ईश्वरका देन हुन भन्ने मलाई थाहा छ। अब जे हुनु थियो त्यही हुन्छ,' उनले भने।
प्रहरी अनुसन्धान जारी छ।
प्रकाशित: ७ आश्विन २०७७ ०८:३७ बुधबार