७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘चिनियाँ सञ्चारमाध्यमले पहिलोपटक झडपमा चीनतर्फ पनि क्षति भएको स्वीकार गर्‍याे’

गत जुन १५ मा सीमा क्षेत्र लद्दाखमा भारतीय सेनासँग भएको झडपमा चिनियाँ सेनातर्फ पनि क्षति भएको भनेर चीनको सरकारी सञ्चारमाध्यमले पहिलोपटक स्वीकार गरेको बिबिसी हिन्दीले दाबी गरेको छ।  

गत जुन १५ मा भएको हिंसात्मक झडपमा आफ्ना २० सैनिकको मृत्यु भएको कुरा भारतले उही बेला स्वीकार गरिसकेको छ भने चीनले अहिलेसम्म यसबारे केही बताएको छैन।  

भारतका सञ्चारमाध्यमले चीनतर्फ पनि ‘ठूलो क्षति’ भएको दाबी गरिरहेको भए पनि चीनका सञ्चारमाध्यमले त्यसलाई ‘झुटो खबर’ भनिरहेका थिए। 

तर चीनको सरकारी अखबार ग्लोबल टाइम्सले पहिलोपटक त्यस झडपमा चीनतर्फका सेनामा पनि क्षति पुगेको स्वीकार गरेको बिबिसी हिन्दीले दाबी गरेको हो।  

यसअघि झडपमा चिनियाँ सैनिकको मृत्यु भएको अस्वीकार गरिरहेको ग्लोबल टाइम्स पत्रिकाका सम्पादकले चीनतर्फ पनि क्षति भएको कुरा स्वीकार गरेको दाबी बिबिसी हिन्दीको समचारमा गरिएको छ।  

ग्लोबल टाइम्सका सम्पादक हु सिजिनले बिहीबार आफ्नो ट्विटरमा लेखेका छन्, ‘जति मैले जानकारी पाएको छु, त्यस आधारमा गलवान उपत्यकामा जुन १५ मा भारततर्फ २० सैनिकको मृत्युको तुलनामा चीनतर्फ निकै कम सैनिक हताहत भएका थिए। भारतीय सैनिकले कुनै चिनियाँ सैनिक नियन्त्रणमा लिएका थिएनन् तर चीनका सैनिकले धेरै जना भारतीय सैनिकलाई पक्राउ गरेका थिए।’  

बिबिसी हिन्दीले लेखेको छ– ‘यस ट्विटमा भारतीय सञ्चारमाध्यमले लेखेको रिपोर्टको स्क्रिनसट पनि राखिएको थियो। जसमा फेक न्युजको मार्क लगाइएको थियो।’  

यसरी चिनियाँ सञ्चारमाध्यमले पहिलोपटक झडपमा चीनतर्फका सेनाको पनि मृत्यु भएको भनेर दाबी गर्दै बिबिसी हिन्दीले खबर लेखे पनि कति चिनियाँ सेना मारिएका थिए त भन्ने अझै स्पष्ट गर्न सकेकाे छैन। 

बिहीबार नै भारतका रक्षामन्त्री राजनाथ सिंहले भारत चीनसँग नझुक्ने र जुनसुकै चुनौती सामना गर्ने चेतावनी दिएका थिए।  

प्रकाशित: २ आश्विन २०७७ ०८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App