१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

भारत–चीन तनाव : लद्दाखमा फेरि चल्याे दर्जनौं गोली

भारतका विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यीबीच यही सेप्टेम्बर १० मा रुसमा सम्झौता गर्नुअघि चीन र भारतका सेनाले सीमा क्षेत्र लद्दाखको पेङगोङ त्सो उपत्यकाको उत्तरी किनारामा १००–२०० राउन्ड गोली चलाएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार यो फायरिङ यही सेप्टेम्बर ७ मा चुसुल सब–सेक्टरमा भएको भन्दा भयंकर थियो। एक उच्च सरकारी अधिकारीले इन्डियन एक्सप्रेससँग घटना पेङगोङ त्सो तालको उत्तरी किनारमा भएको बताएका छन्। उनले भने, ‘दुई पक्षबीच सयदेखि दुई सयसम्म राउन्ड गोली फायरिङ भएको छ।’

यसअघि सेप्टेम्बर ७ मा चुसुल सब–सेक्टरमा भएको फायरिङबारे भारत र चीनले विज्ञप्ति जारी गरेका थिए। जसअनुसार ४५ वर्षपछि पहिलोपटक सीमा क्षेत्रस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी) मा फायरिङ भएको हो।  

भारतीय सेनाले आफ्नो विज्ञप्तिमा भनेको थियो– ७ सेप्टेम्बर, सोमबार चिनियाँ सेना (पिएलए) का सैनिक एलएसीमा भारततर्फ एक कदम अघि बढ्ने कोसिस गरिरहेका थिए, जब हाम्रा सैनिकले उनीहरूलाई भगाए, तब उनीहरूले कैयौं राउन्ड हवाई फायर गरेर हामीलाई तर्साउन खोजे।’

तर चीनले भने पहिला भारतीय सैनिकले गैरकानुनी तरिकाले वास्तविक नियन्त्रण रेखा नाघ्दै सीमामा तैनाथ आफ्ना सेनालाई तर्साउन फायरिङ गरेको आरोप लगाएको थियो।  

तर त्यसपछि पुनः पेङगोङमा भएको फायरिङबारे अहिलेसम्म दुवै देशले कुनै जानकारी दिएका छैनन्। जुन सेप्टेम्बर ७ मा भएको फायरिङभन्दा गम्भीर खालको रहेको बताइएको छ।  

इन्डियन एक्सप्रेसले यो खबरलाई पहिलो पृष्ठको प्रमुख खबर बनाएर प्रकाशन गरेको छ।  

भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको भेटवार्तापछि दुवै पक्ष विद्यमान सम्झौता र प्रोटोकलको पालना गर्ने र तनाव बढ्ने कुनै गतिविधि नगर्ने सहमति भएको थियो।  

सन् १९९६ र २००५ मा भारत–चीनबीच भएको सन्धियता दुवै देशका सेनाले हतियार (बन्दुक) भने प्रयोग गर्दैनन्।  

प्रकाशित: ३१ भाद्र २०७७ ०७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App