१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा बम विस्फोट गरी पाँच सैनिकको हत्या

अफगानिस्तानको पश्चिमी बागदिस प्रान्तमा सोमबार भएको एक बम हमलामा परी  पाँच जना अफगान सेनाको ज्यान गएकाे छ।

पश्चिमी बागदिस प्रान्तको अबकामारी जिल्लामा सोमबार अपरान्ह सडक किनारमा राखिएको बम विस्फोट गराएर ती सैनिकका ज्यान लिइएको हो।

प्राप्त समाचारअनुसार उक्त जिल्लाको एक राजमार्गमा लुकाई छिपाई राखिएको बम सेनाको सवारी नजिक पुगेपछि विस्फोट भएको थियो।

त्यस विस्फोटमा परी सुरक्षा गस्तीमा हिँडेको अफगान सेनाको सवारीमा रहेका पाँच जना सैनिकको ज्यान गएको र त्यसमा रहेका अरु केही घाइते भएको सोमबार प्राप्त भएको समाचारमा जनाइएको छ।

सोही स्थानमा केही दिनमात्र अघि सडकमा नै यसैगरी राखिएको बम विस्फोट हुदा चार जना सर्वसाधारणको ज्यान गएको बताइएको थियो।  

सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ। गएको बिहीबार सडकको किनारमा राखिएको बम अकस्मात विस्फोट हुदा बाटो हिँडीरहेका सर्वसाधारण नागरिकको ज्यान गएको हो।

अफगानिस्तानको टोलो न्युजले सो समाचार दिएको छ। उक्त समाचारका अनुसार बागदिस  जिल्लाको एक बाटोमा राखिएको बम अकस्मात विस्फोट भएको थियो र त्यसमा रहेका अफगान सेनाका कम्तीमा पाँच जना अधिकारीको ज्यान गएको छ।

तालिबानहरुले यसअघि पनि सर्वसाधारणलाई लक्ष्य गरेर सडक किनारमा बम राख्ने गरेकोले यो बम पनि उनीहरुले नै राखेको अनुमान गरिएको छ। यद्यपि यस विषयमा तालिबानका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन। हाल तालिबान र अफगान सरकारबीच कतारको दोहामा वार्ता जारी रहेको छ।

प्रकाशित: ३० भाद्र २०७७ ०८:०६ मंगलबार

अफगानिस्तान बम विस्फोट