coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सामाजिक सञ्जालमा ‘आपत्तिजनक’ कुरा लेखेको भन्दै गाडी जलाइयो, प्रहरीको गोलीले ३ जनाको ज्यान गयो

प्रदर्शनकारीले जलाएकाे गाडी। तस्बिर : बिबिसी

भारतको बेङ्गलुरुमा सामाजिक सञ्जालमा समुदाय विशेषविरुद्ध ‘आपत्तिजनक’ कुरा लेखिएको भन्दै भएको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा तीन जनाको मत्यु भएको छ ।  

बिबिसी हिन्दीका अनुसार पुलिकेशिनगरका कांग्रेस विधायक अखण्ड श्रीनिवास मूर्तिका भतिजा पर्ने व्यक्तिले मुसलमान समुदायको भावनामा ठेस पुग्ने कुरा लेखेपछि दोषीलाई कार्बाही माग गर्दै मंगलबार साँझ ठूलो संख्याको समूहले विरोध प्रदर्शन गरेको हो ।

त्यो भीडले प्रहरी कार्यालय तथा विधायक अखण्डको घरमा समेत तोडफोड र आगजानी गर्न थालेपछि नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा तीन प्रदर्शनकारीको मृत्यु भएको हो ।    

प्रहरी आयुक्त कमल पन्तले बिबिसी हिन्दीसँग भनेका छन्, ‘प्रहरीको फायरिङमा परेर घाइते तेस्रा व्यक्तिको पनि मृत्यु भएको छ । राति १२ः३० बजेबाट यहाँको स्थिति नियन्त्रणमा छ ।’  

उग्र भीडले विध्वंश मच्चाउन थालेपछि गोली चलाउन बाध्य भएको प्रहरीको दाबी छ । अहिले त्यस क्षेत्रमा कर्फ्यु लगाइएको प्रहरी आयुक्त पन्तले बताएका छन् ।  

समाचार एजेन्सी एएनआईले बेङ्गलुरु संयुक्त प्रहरी आयुक्त (अपराध) सन्दीप पाटिललाई उधतृ गर्दै घटनामा संलग्न ११० जना पक्राउ गरिएको जनाएको छ ।  

प्रदर्शनकारीको एउटा समूह प्रहरी कार्यालय र अर्काे समूह कांग्रेसका विधायकको घरमा गएर तोडफोड तथा आगजनी गरेको बताइएको छ । त्यस क्रममा केही गाडी जलाइएका छन् ।

सामाजिक सञ्जालमा त्यस्तो कुरा लेख्ने नवीन नामका व्यक्तिलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । उनले लेखेको कुरा मुसलमान समुदायको धार्मिक भावना ठेस पुग्ने ‘आपत्तिजनक’ भनिए पनि के लेखिएको थियो भन्ने समाचारमा खुलाइएको छैन ।  

प्रहरी आयुक्तले भनेका छन्, ‘प्रहरीलाई ढुंगामुढासहित आक्रमण भएाके थियो । भीड नियन्त्रणभन्दा बाहिर गएको थियो, नियन्त्रण गर्न समय लाग्यो । प्रहरी कार्यालयलाई चारैतिरबाट घेरा हालियो । प्रहरीसामु गोली चलाउनुबाहेक विकल्प थिएन ।’

यसबीच कांग्रेस विधायक श्रीनिवास मूर्तिले एक भिडियो सन्देशमार्फत मुसलमान समुदायलाई शान्त रहन आग्रह गर्दै दोषीलाई कारबाही गर्ने आश्वासन दिएका छन् । उनले भनेका छन्, ‘विषय जेसुकै होस्, हामी सबै दाजुभाइ हौं। यसमा हामी सबै जिम्मेवार बन्नुपर्छ । हामी उसलाई सजाय दिने ग्यारेन्टी गर्छाैं । म तपाईंहरूको साथमा छु । म अनुरोध गर्छु– तपाईंहरू शान्ति कायम गर्नुस् ।’ ्

कर्नाटक राज्यका गृहमन्त्रीले पनि दोषीलाई कारबाही गर्ने आश्वासन दिएका छन् ।  

प्रकाशित: २८ श्रावण २०७७ ०९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App