७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमित राखिएको होटलमा आगो लाग्यो, ९ जनाकाे मृत्यु

घटनास्थल। तस्बिर : बिबिसी

भारतमा कोरोना संक्रमित राखिएको एक होटलमा आइतबार बिहान आगलागी भएको छ ।  

बिबिसी हिन्दीका अनुसार आन्ध्र प्रदेशको विजवाडास्थित स्वर्ण प्यालेस नामको होटलमा बिहान ५ बजेतिर आगलागी भएको हो ।  घटनामा अहिलेसम्म ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  

आन्ध्र प्रदेशका गृह राज्यमन्त्री मेकाथोटी सुचरिताका अनुसार विद्युत चुहावट हुँदा आगलागी भएको हो ।  

बिहान ५ बजेर ९ मिनेट जाँदा प्रहरीलाई आगलागीबारे खबर आएको थियो । पाँच मिनेटमै घटनास्थल पुगेको प्रहरी टोलीले आधा घण्टामै आगो नियन्त्रणमा लिएको थियो ।  

आन्ध्र प्रदेश सरकारका सल्लाहकार एस राजी कृष्णाले ट्विटमार्फत मुख्यमन्त्रीले आगलागीबाट पीडितलाई उपचारलगायत सहयोग गर्ने वचन दिएको जानकारी दिएका छन् ।  

विजयवाडाका प्रहरी कमिस्नर बी श्रीनिवासुले बिबिसीसँग भनेका छन्, ‘यी मानिस कहाँ कहाँबाट आएर उपचार गराइरहेका थिए । आगो लाग्ने बेला होटलमा ३० जनाभन्दा बढी मानिस थिए । तीमध्ये धेरेजसोलाई बचाउन हामी सफल भएका छौं । मृतकको संख्या बढ्न सक्छ।’

आगलागी भएपछि चार जना भवनबाट तलतिर भागेका थिए । तर अहिलेसम्म ती चार जनाको कुनै जानकारी आएको छैन । आगलागीमा घाइते भएकाहरू नजिकैको रमेश हस्पिटलमा भर्ना भएका छन् । सोही हस्पिटलले उपचारका लागि आएका कोरोना संक्रमित राख्न भाडामा लिएर त्यस होटललाई कोरोना केयर सेन्टर बनाएको थियो ।

आन्ध्र प्रदेश सरकारले घटनाको अनुसन्धान गर्न आदेश दिएका छन्, जसको नेतृत्व जिल्ला संयोजकले गर्नेछन् ।  

प्रकाशित: २५ श्रावण २०७७ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App