८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

म पद छोड्दिनँ : इन्फान्टिनो

जियानी इन्फान्टिनो

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफूमाथि आपराधिक घटनामा संलग्न भएको आरोपमा भइरहेको अनुसन्धान निराधार भएको र केही दिनमै सत्यतथ्य बाहिर आउने आशा व्यक्त गरेका छन्।  

गत साता स्विटजरल्यान्डका अधिवक्ताहरूले इन्फान्टिनोले स्विस महान्यायाधिवक्ता मिचेल लाउबरसँग गोप्य वार्ता गरेको र त्यसले फिफाको भ्रष्टाचार मुद्दाको अनुसन्धान प्रभावित पार्ने काम गरेको आरोपमा कानुनी प्रक्रिया अघि बढाएका थिए। इन्फान्टिनो र लाउबरले सो आरोप अस्वीकार गर्दै आएका छन्। साथै फिफाले आपराधिक अनुसन्धान जारी रहे पनि इन्फान्टिनोले अझै फिफा अध्यक्षकै रूपमा कामकारबाही अघि बढाउने जनाएको थियो।

इन्फान्टिनोले आफ्ना सदस्य राष्ट्रका फुटबल संघलाई पठाएको पत्रमा आफू र लाउबरबीचको भेटघाट गोप्य नभएको र कुनै अपराधिक कार्य पनि नभएको बताएका छन्। यद्यपि उनले आफूमाथि सुरु भएको अनुसन्धानले फिफाको गरिमामा ठेस पु¥याएको पनि बताएका छन्।  ‘म पद छाड्दिनँ। कसैले मेरोविरुद्ध गलत प्रचार गर्दै फिफाको काम कारबाही नै प्रभावित पार्ने उद्देश्यले मेराविरुद्ध मुद्दा दर्ता गराएका छन्, जुन निराधार छ। थाहा छैन त्यो अपरिचित व्यक्ति को हुन् भनेर। आशा छ, सबै सत्यतथ्य छिट्टै बाहिर आउनेछ,’ इन्फान्टिनोले भने।  

फिफासम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धान जारी रहँदा इन्फान्टिनोसँग भएको भेटवार्ताका बारेमा झुटो बोलेको पुष्टि भएसँगै लाउबरले गत साता पदबाट राजीनामा दिएका थिए।  स्विट्जरल्यान्डको विशेष अदालतले लाउबर र इन्फान्टिनोमाथि लागेको आरोपमा अनुसन्धान गर्न  स्टेफन किल्लरको संयोजनमा अनुसन्धान कमिटी गठन गरिसकेको छ।  

‘स्विट्जरल्यान्डका न्यायाधीशहरूसँग मेरो छलफल हुँदा स्विट्जरल्यान्डको महान्यायाधिवक्ताको कार्यालयले फिफासम्बन्धी २० वटा घटनाबारे अुनसन्धान गर्दै थियो। फिफाको छवि धमिल्याउने काम भएपछि अध्यक्षले सम्बन्धित पक्षसँग भेट्नु र संवाद गर्न सामान्य हो,’ इन्फान्टिनोले भने, ‘यो त्यसकै निरन्तरता हो र निमियत भेटको शृंखला हो। फिफाको भ्रष्टाचार मुद्दामा जारी अनुसन्धानमा हाम्रो सधैं पूर्ण समर्थन रहँदै आएको छ। लाउबरसँग मैले व्यक्तिगत रूपमा नभई फिफाको प्रतिनिधिका रूपमा भेटवार्ता गरेको हुँ।’

प्रकाशित: २५ श्रावण २०७७ ०५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App