७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतमा कोराेनाबाट मृत्यु भएकामध्ये ५० प्रतिशत ६० वर्षमाथिका व्यक्ति : स्वास्थ्य मन्त्रालय

भारतमा कोभिड–१९ संक्रमणपछि मृत्यु भएका ५० प्रतिशतभन्दा धेरै व्यक्ति ६० वर्ष र सोभन्दा माथि उमेर समूहका रहेको पाइएको छ । मङ्गलबार संघीय स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उक्त कुरा बताइएको हो ।

मन्त्रालयका सचिव राजेश भूषणले तथ्याङ्क सार्वजनिक गर्दै भने, 'कोभिड–१९ संक्रमणपछि मृत्यु भएका ५० प्रतिशतभन्दा माथि ६० वा सोभन्दा माथिको उमेर समूहका व्यक्ति रहेका छन् भने ३७ प्रतिशतभन्दा बढी ४५–६० वर्ष उमेर समूहका संक्रमित रहेका छन् । त्यस्तै २६–४४ वर्ष उमेर समूहका ११ प्रतिशत र १८–२५ एक प्रतिशत र १८ वर्ष मुनिका एक प्रतिशत कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।'

'भारतमा हाल सक्रिय संक्रमितको संख्या पाँच लाख ८६ हजार २८६ रहेको र १२ लाख भन्दा बढी मानिस निको भई घर फर्किएका छन्,' सचिव भूषणले बताए । उनले भने, 'कोभिड–१९ संक्रमित मृतकहरूमा ६८ प्रतिशत पुरुष र ३२ प्रतिशत महिला बिरामी रहेका छन्, जुन विश्वव्यापी परिदृश्यसँग मिल्दोजुल्दो छ ।'

भारतमा कोभिड–१९ बिरामीहरू निको भएकाको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको र अहिले सक्रिय संक्रमितको तुलनामा यो सङ्ख्या दोब्बर रहेको मन्त्रालयले जनाएको छ ।

भूषणका अनुसार अहिलेको मृत्यु दर पहिलो लकडाउनपछि सबैभन्दा निम्न रहेको छ । भारतमा विगत २४ घण्टामा छ लाख ६० हजार परीक्षण गरिएकोसहित अहिलेसम्म दुई करोडभन्दा बढीको कोभिड–१९ संक्रमण परीक्षणहरू गरिएको छ । 'भारतमा लकडाउनपछि पहिलो पटक मृत्युदर २.१० प्रतिशत अर्थात् सबैभन्दा कममा झरेको र यसलाई राम्रो सङ्केतका रूपमा मन्त्रालयले लिएको छ,' उनले भने ।

प्रकाशित: २० श्रावण २०७७ १३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App