१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

भियतनाममा शून्य मृत्यु दरको गौरवमा धक्का

दक्षिणपूर्वी एसियाली  देश भियतनाममा भाइरसका कारण शुक्रबार एकजनाको मृत्यु भएपछि शून्य मृत्यु दरको गौरवमा धक्का लागेको छ।

भियतनामको सरकारी समाचार माध्यमले जनाएअनुसार कोरोना भाइरसका कारण होइएन सहरका ७० वर्षका पुरुषको मृत्यु भएको हो। कुल जनसंख्या साढे नौ करोड रहेको भियतनाममा हालसम्म केही सयमा मात्र भाइरस संक्रमण छ।  

भियतनाममा पछिल्ला तीन महिनायता नयाँ संक्रमित फेला नपरेको बिबिसीले जनाएको छ। अन्य राष्ट्रको तुलनामा कोरोना भाइरस संक्रमण नियन्त्रणमा भियतनाम सफल मानिँदै आएको छ। भियतनामले आफ्नो देशमा भाइरस संक्रमणका बिरामी पहिचान हुनुअघि नैे सीमा बन्द गरेको थियो। उसले बाह्य देशका पर्यटकलगायतलाई भियतनाम आउन निषेध गरेको थियो। उसले बाहिरी देशबाट आएका आफ्ना नागरिकलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने र परीक्षण गर्नुपर्ने नियम बनाएको थियो। यो व्यवस्थाका कारण मध्य अप्रिलदेखि भियतनाममा स्थानीयमा संक्रमण देखिएको थिएन। भियतनाममा कोरोना संक्रमित भएका एक स्कटिस पाइलट २ महिना कोमामा बसेपछि निको भएका थिए। तर यसै साताको सुरुमा भियतनामी सहर डा नाङको एक रिसोर्टमा नयाँ संक्रमित पत्ता लागेपछि त्यहाँ पूर्ण रुपमा लकडाउन गरिएको छ।  

भियतनामका प्रधानमन्त्री नियोन छुआन फुकले अहिले सबै प्रान्त तथा सहर भाइरस संक्रमणको जोखिममा रहेको बताएका छन्। ‘हामीले यथाशिघ्र प्रभावकारी रुपमा महामारी नियन्त्रण गर्नुपर्छ,’ प्रधानमन्त्री फुकलाई उद्धृत गर्दै  सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: १७ श्रावण २०७७ ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App