हङकङमा कोरोना महामारी भयावह बन्दै गएको छ । बिहीबार त्यहाँ एक दिनमा थपिने संक्रमित अहिलेसम्मकै बढी संख्यामा देखिएका छन् ।
‘साउथ चाइना मर्निङपोस्ट’ का अनुुसार बिहीबार त्यहाँ १ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हङकङकी कार्यकारी प्रमुख क्यारी लामले कोरोना महामारी भयावह बन्ने खतरा देखिएको भनेकै भोलिपल्ट दैनिक संक्रमण दर अहिलेसम्मकै उच्च देखिएको हो ।
कोरोनाविरुद्ध लागू गरिएका प्रतिबन्ध खुकुलो पार्दै गएकाले संक्रमण बढ्दै गएको विज्ञले बताएका छन् ।
यसअघि महामारी मत्थर भइसकेको हङकङमा केही दिनयता लगातार दिनमा सयभन्दा बढी संक्रमित फेला परिरहेका छन् । यसरी कोरोना संक्रमण पुनः बढ्न थालेपछि हङकङमा सुरक्षा सतर्कताका नियम कडा बनाइएको छ ।
रेस्टुरेन्टमा खान खान तथा २ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ भने सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ । नियम पालना नगर्नेलाई ५ हजार हङकङ डलर जरिवाना लगाउने प्रावधान राखिएको छ ।
यो पनि पढ्नुहोस्
हङकङमा कोरोना फेरि जाग्न थाल्यो, लगाइयो अहिलेसम्मकै कडा प्रतिबन्ध
प्रकाशित: १५ श्रावण २०७७ ०९:४१ बिहीबार