१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

इथियोपियामा हिंसात्मक झडप हुँदा १६६ जनाको मृत्यु

इथियोपियाका लोकप्रिय गायकको मृत्युका विषयमा भएको विवाद हिंसात्मक भडपमा परिणत हुँदा इथियोपियाको ओरोमिया क्षेत्र र राजधानी अदिस अबाबामा कम्तीमा १ सय ६६ जनाको मृत्यु भएको प्रहरी स्रोतहरूले आइतबार जानकारी गराएका छन् ।           

अरोमिया क्षेत्रका प्रहरी उपआयुक्त गिरमा गेलमले झडपमा कम्तीमा १ सय ५६ सर्वसाधारण र ११ सुरक्षाकर्मीको मृत्यु भएको जानकारी गराए ।     

प्रहरीले गत मंगलबार अदिस अबाबामा भएका झडपमा कम्तीमा १० प्रदर्शनकारी र दुई प्रहरी अधिकारीको मृत्यु भएको जनाएको थियो ।           

इथियोपियाका जनजातिको अधिकारका लागि गाउने गरेका हाचालु हुन्देसाको मृत्युलाई लिएर उक्त समुदायले गरेका विरोधका कार्यक्रमले हिंसात्मक रूप लिएको हो ।           

हुन्देसाको गायनबाट उठेको सांस्कृतिक चेतनाको बलमा उठेको आन्दोलनले सन् २०१८ मा तत्कालीन प्रधानमन्त्रीले सत्ता छोड्न बाध्य पारेको थियो । हुन्देसालाई अज्ञात व्यक्तिले गत सोमबार गोली हानी मारेको थियो । उनको मृत्युपछि राजधानी अदिस अबाबा र ओरोमिया क्षेत्रमा रहेका आदिवासी जनजातिले हुन्देसाको हत्यामा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि आन्दोलनमार्फत दबाब सिर्जना गर्दै आएका थिए ।         

सञ्चार माध्यमका अनुसार आन्दोलन चर्किँदै गएपछि इथियोपियाका केही क्षेत्रमा इन्टरनेट सेवा काटिएको छ ।       

हिंसात्मक आन्दोलनमा सहभागी भएको आरोपमा कम्तीमा २ हजार २ सय व्यक्तिलाई नियन्त्रणमा लिइएको सरकारी अधिकारीले बताएका छन् । आन्दोलन र झडपका घटना शनिबारदेखि नियन्त्रणमा आएको बताइएको छ ।      

प्रकाशित: २१ असार २०७७ ०९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App