१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

स्पेनले फ्रान्स र पोर्चुगलसँगको सीमा खुला गर्ने

कोरोनाभाइरसको अत्यधिक सङ्क्रमण भएका मुलुकहरूमध्येको यूरोपेली मुलुक स्पेनले महामारी नियन्त्रणका लागि बन्द रहेका फ्रान्स र पोर्चुगलसँगको सिमा नाकाहरूलाई आगामी जुन २२ पछि खुला गर्ने भएको छ।  

स्पेनका पर्यटनमन्त्री रेयस मारोटोले सञ्चारमाध्यमसँग बिहीबार भने, “स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या क्रमशः कम हुँदै गएको र देशले सङ्क्रमण फैलिनबाट रोक्ने प्रयासस्वरूप विगतमा लिएका उपायलाई क्रमशः खुकुलो पार्ने नीति लिएको छ। यसै अनुरूप यही जुन २२ पछि फ्रान्स र पोर्चुगलसँगको सीमानाका लाई पुनः सञ्चालनमा ल्याइनेछ।”

उनले थपे, “सिद्धान्ततः १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने यस पहिलेको अनिवार्य शर्तलाई पनि ती नाकाबाट प्रवेश गर्ने पर्यटकका लागि हटाइने छ।”

यो निकै महत्वपूर्ण भएको छ किनकि यसले फ्रान्सेली तथा पोर्चुगाली पर्यटकलाई स्पेनमा स्वागत गर्ने बाटोलाई महामारीपछि पुनः खुला गर्ने उनको भनाइ थियो।

स्पेनले देशव्यापी बन्दाबन्दीको घोषणा गरेको तीन दिनपछि फ्रान्स र पोर्चुगलसँगको सीमानाकालाई गत मार्च १७ देखि बन्द गरेको थियो।

स्पेनमा बिहीबारसम्म दुई लाख ४० हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित पुगेका छन् भने २७ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ।  

स्पेनले गत मे १५ पछि स्पेन प्रवेश गर्ने व्यक्तिले अनिवार्य दुई हप्ता ‘सेल्फ आइसोलेसन’ मा बस्नुपर्ने गरी अन्तर्राष्ट्रिय आगमनलाई खुला गरेको थियो। यो उपाय हवाई मार्ग, जल वा स्थल मार्गबाट आउने यात्रुका लागि जुलाई १ सम्मका लागि बाध्यकारी रहने निर्णय स्पेन सरकारले यस पहिले नै गरेको छ। 

प्रकाशित: २२ जेष्ठ २०७७ १६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App