८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतमा मालबाहक रेलले किचेर १६ जनाको मृत्यु

औंरगाबाद, – महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका प्रवासी मजदूरको एक समूहलाई मालबाहक रेलले जालना र औरंगाबादबीच बिहान ६:३० बजे किचेको थियो । उक्त दुर्घटनामा अन्य केही मजदूर पनि घाइते भएका छन् ।

घाइतेहरुलाई औरंगाबादस्थित स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनालगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थल पुगेका थिए । भारतीय रेलवेले मजदूरहरु रेलमार्गमा आराम गरिरहेको समयमा दुर्घटना भएको जनाएको छ । 

भारतीय रेलमन्त्री पियुष गोयलले उक्त घटनाको जाँचको आदेश दिएका छन् । संचार माध्यमहरुका अनुसार यी सबै मजदूर मध्यप्रदेशका थिए । प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतक मजदूरका प्रत्येक परिवारलाई पाँच लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् । 

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालगत्तै ट्वीट गरी महाराष्ट्रको औरंगाबादमा भएको घटना अत्यन्त दुःखद भएको र आफू घटनाबाट मर्माहत भएको जनाउँदै आफूले रेलमन्त्रीलाई उक्त घटनाबाट पीडितलाई जतिसक्दो चाँडो सहयोग गर्न निर्देश दिएको बताएका छन् । 

भारतमा देशव्यापी लकडाउन घोषणा गरेपछि मुम्बई, नयाँ दिल्ली समेतका ठूला शहरबाट लाखौं मजदूर पैदलै हिँडेर आआफ्ना घर फर्किरहेका छन् । पछिल्लो पटक भारतमा भएको यो दुर्घटना लकडाउनको अवधिको सबैभन्दा भयानक हो ।रासस 

प्रकाशित: २६ वैशाख २०७७ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App