२५ जेष्ठ २०७७ आइतबार
अन्तर्राष्ट्रिय

कोरोना संक्रमणबाट विश्वभर मर्नेको संख्या चार हजार नाघ्यो

बेइजिङ – कोरोना जिवाणु (कोभिड–१९) संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या चार हजार नाघेको छ। अमेरिकी समाचार संस्था सिएनएनका अनुसार विश्वभर कोरोना जिवाणुबाट चार हजार ७२ जनाको ज्यान गएको छ भने एक लाख १४ हजार ६ सय ३३ जना संक्रमित छन्।

जसमध्ये मुख्यभूमि चीनमा तीन हजार एक सय ३६ जनाको ज्यान गएको छ भने ८० हजार सात सय ५४ संक्रमित छन्। पछिल्लो समय बंगलादेश, अल्बानिया र पाराग्वेमा कोरोना संक्रमण देखिएपछि यसबाट प्रभावित देशको संख्या ११० पुगेको छ। पछिल्लो २४ घन्टामा विश्वभर तीन हजार नौ सय ९३ जनामा यस भाइरसको संक्रमण देखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी दिएको छ।

राष्ट्रपति सीद्वारा वुहानका स्थानीय र स्वास्थ्यकर्मीसँग भेट
चीनका राष्ट्रपति सी चिनफिङले मंगलबार वुहानका वासिन्दा र संक्रमण नियन्त्रणका खटिएका अधिकारीसँग भेट गरेका छन्। राष्ट्रपति सीले भ्रमण गरेको क्षेत्र कोरोनाबाट सबैभन्दा बढी प्रभावित स्थान हो। राष्ट्रपति सीले प्रकोप रोकथाम तथा नियन्त्रण परीक्षण केन्द्र, ह्वो शन शान अस्पतालको निरीक्षण भ्रमणपछि प्रकोप नियन्त्रणका सिलसिलामा क्वारेन्टाइनमा बसेका स्थानीयसँग पनि भेटेर जानकारी लिएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय महासचिवसमेत रहेका राष्ट्रपति सीले वुहान स्थानीय समुदायले जिवाणु संक्रमण नियन्त्रणका लागि गरेका पहलहरूबारे जानकारी लिएका थिए। उनले स्थानीय, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अन्य सरकारी कर्मचारी तथा स्वयंसेवक र संघसंस्थालाई प्रकोप नियन्त्रणका लागि गरेको पहलका लागि आभार व्यक्त गरे। उनले त्यहाँ अस्पतालको सञ्चालन, बिरामीको उपचार, चिकित्साकर्मीको संरक्षण र प्रत्याभूति, वैज्ञानिक अध्ययन आदि अवस्थाबारे जानकारी लिएर उपचाररत बिरामीप्रति सहानुभूति प्रकट गरेका थिए। राष्ट्रपति सीले चिकित्साकर्मीलाई हौसला दिँदै सबैले दृढविश्वासका साथ जिवाणु विरोधी लडाइँ जित्नुपर्ने बताए।

इरानमा एकै दिन ५४ जनाको मृत्यु
इरानमा नयाँ कोरोना जिवाणुको संक्रमणबाट एकै दिन ५४ जनाको ज्यान गएको छ। इरानमा एकै दिन कोरोनाको संक्रमणबाट यति ठूलो संख्यामा मानिसको मृत्यु भएको पहिलो घटना भएको इरानी अधिकारीहरूले बताएका छन्। त्यहाँ कोरोना संक्रमित भई मर्नेहरूको संख्या दुई सय ९१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपोरले बताए। उनले कोरोना संक्रमित व्यक्तिहरूको संख्या निरन्तर बढेको बताउँदै पछिल्लो पटक आठ सय ८१ जनामा कोरोना भएको पुष्टि भएको जानकारी दिए। इरानमा संक्रमित व्यक्तिको संख्या आठ हजार ४२ पुगेको छ।

कोरोनाको संक्रमणबाट सर्वाधिक प्रभावित राजधानी तेहरानमा परेको छ, जहाँ दुई हजार एक सय १४ जना संक्रमित भएका छन्। क्यास्पियन सागरसँग सीमा जोडिएको लोकप्रिय पर्यटकीय क्षेत्र मजान्दारान प्रान्तमा आठ सय ८६ जना तथा क्वोममा सात सय ५१ जनामा कोरोनाको संक्रमण देखिएको छ। इरानले अझैसम्म आधिकारिकरूपमा मानिसहरूलाई क्वारेन्टाइनमा रहन बाध्य बनाएको छैन। तर, अधिकारीहरूले मानिसहरूलाई अनावश्यक यात्रा नगर्न तथा यात्रा निरुत्साहित गर्ने उद्देश्यले होटलहरू बन्द गर्न आदेश दिएको छ।

प्रकाशित: २८ फाल्गुन २०७६ ०८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App