७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

'जनावरको ११३ प्रजातिलाई आपतकालीन सहयोग आवश्यक'

सिड्नी – लामो समयसम्म लागेको आगलागीमा आफ्नो बासस्थान गुमाएका करिब ११३ प्रजातिका जनावरलाई पुनःस्थापनाका लागि आपतकालीन सहयोग आवश्यक रहेको अस्ट्रेलियाले जनाएको छ।

आगलागीपछि गरेको अध्ययनमा कुनै पनि प्रजातिका जनावरको पूर्ण नास भने नभएको सरकारले जनाएको छ। तर, सबै प्रजातिले कम्तीमा ३० प्रतिशत बासस्थान गुमाएको अध्ययनमा उल्लेख छ। आगलागीका कारण बासस्थान गुमाउनेमा स्तनधारी कोआला र वालाबी (कंगारू) तथा पंक्षी, माछा तथा भ्यागुताका केही प्रजातिहरूलाई आगामी केही समय बासस्थानको अभाव हुने देखिएको विज्ञहरूले बताएका छन्। अनुसन्धानकर्ताहरूले आगलागी भइरहेकै समय गरेका अनुमानमा जलवायु परिवर्तनका कारण समशीतोष्ण जंगल तथा घाँसे मैदानको ठूलो जमिन जलेको र यसमा करिब एक अर्बभन्दा बढी जनावर मरेका हुनसक्ने अनुमान गरेका थिए।

डढेलोको कारण सबैभन्दा बढी प्रभावित जीवजन्तुमा प्रजातिमा १३ थरी चराहरू, २० प्रकारका सरिसृप, १९ थरी स्तनधारी जनावर, पाँच प्रकारका मेरूदण्ड नभएका जीव, २२ प्रजातिका भिँगा माछाको आगलागी र आगलागीपछि जंगलबाट बगाएर लगेको खरानीका कारण बासस्थान संकटमा परेको डढेलोपछि गठन भएको विशेषज्ञहरूको समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। अस्ट्रेलियाले देशका चारै भागमा रहेका जंगल र घाँसे मैदान तथा बस्तीहरूमा लागेको डढेलोको प्राकृतिक क्षतिको अध्ययन गर्न सरकारले गठन गरेको विशेषज्ञ समिति ‘वाइल्डलाइफ एन्ड थ्रिटेन्ड स्पेसिस बुसफायर रिकभरी एक्पर्ट प्यानल’ गठन गरी जिम्मेवारी तोकेको थियो।

मंगलबार सार्वजनिक एउटा अस्थायी सूचीमा डढेलोबाट विनास सयौं प्रभावित प्रजातिहरूको क्षेत्रलाई घटाएर अत्यन्त जरुरी संरक्षण कार्यको आवश्यक भएका सूचीलाई उल्लेख गरिएको हो। यो सरकारले बनाइको विज्ञहरूको समितिबाट सार्वजनिक तथ्यांकबाट लिइएको आँकडा हो। समितिले अत्यधिक खतराको सूचीमा रहेका प्रजाति जसले डढेलोबाट बासस्थान नासिएपछि ‘लोप हुने निकट खतरा’ भएका प्रजातिको छानेको हो। अध्ययनका क्रममा आगलागीका कारण उनीहरूको वासस्थान विनास भएको र आहारा र उचित वासस्थान नपाउँदा लोपोन्मुख खतरा सूचीमा रहेका ती प्रजाति संकटमा परेको तथ्य सार्वजनिक गरेको छ। प्रतिवेदनमा लोपोन्मुख कोआला, ध्वाँसे मूसा ‘पोउ’ प्रजातिका भ्यागुता, हिमाली क्षेत्रको पानीमा भेटिने निलो छेपारो र कंगारू टापुमा पाइने मांसाहारी प्रजाति रहेको उल्लेख गरिएको छ।

डुनार्ट भनिने कंगारू टापु दक्षिण अस्ट्रेलियाको एक प्रसिद्ध स्थान हो, जहाँ प्राय कंगारू प्रजातिका वन्यजन्तु रहन्छन्। यसलाई जनवरीमा लागेको डढेलोले विनास गरेको थियो।  लोपोन्मुख कोआला, ध्वाँसे मूसाको बसोवास रहेका महŒवपूर्ण क्षेत्रमा पनि आगलागी भएको थियो। यसको अर्थ उनीहरूलाई बचाउन उनीहरूमाथि ‘आपतकालिन हस्तक्षेप’ मानिने मानवीय सहयोगको आवश्यकता रहन्छ। सूचीमा रहेका कतिपय प्रजाति अस्ट्रेलियामा यो वर्ष डढेलो लाग्नुपूर्व नै लोपोन्मुख जनावरका रूपमा थिए। यसबाहेक अस्ट्रेलियामा पाइने अन्य जनावरलाई सुरक्षित सूचीमा राखिएको छ। तर, उनीहरू उचित बासस्थानको अभावमा लोप हुनसक्ने खतरा भने देखिएको विज्ञहरूको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।  

‘धेरै प्रजातिलाई जंगलमा भएको आगलागीभन्दा पहिले सुरक्षित ठानिन्थ्यो र खतराको सूचीमा राखिएन। अब उनीहरूको अधिकांश बासस्थान गुमिसकेको छ। उनीहरू बिरामी हुन सक्छन्। अन्य जीवका कारण असुरक्षित बन्न सक्छन्,’ समितिले भनेको छ। ‘समितिले आफ्नो अध्ययनको अर्को सूचीमा बोटबिरुवाका प्रजातिहरू र कीरा फट्यांग्रालगायत मेरूदन्ड नभएका जीवका विषयमा जानकारी सार्वजनिक गर्नेछ,’ वातावरणमन्त्री सुसान लेले भनिन्। उनले भनिन्, ‘केही क्षेत्र र धुवाँ मैदानमा अध्ययनका समय पनि डढेलो जारी रहेका कारण विनाशको वास्तविक मापनको आँकलन सीमित भएको थियो। जबकि आगोबाट प्रभावित ठाउँमा खतरा भएका जनावरहरूको केही उत्साहजनक दृश्यहरू प्राप्त भएका छन्।’ गत साता परेको पानीका कारण अस्ट्रेलियामा डढेलोको समस्या तत्काललाई टरेको त छ। तर, आमामी दिनमा निम्तिन सक्ने खतरालाई नजर अन्दाज गर्न नहुने विज्ञहरूको सुझाव रहेको छ।

गत महिना अस्ट्रेलियाले वन्यजन्तु र आवास पुनःप्राप्तिका लागि पाँच करोड अस्ट्रेलियाली डलर (तीन करोड तीस लाख अमेरिकी डलर) दिने प्रतिवद्धता व्यक्त गरेको छ। उक्त रकम डढेलोमा घाइते बनेका जनावरको उपचार, खानाको मात्रा र किरा फट्यांग्राको रक्षार्थ उपलब्ध गराइएको सरकारले जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०७६ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App