१५ चैत्र २०८० बिहीबार
अन्तर्राष्ट्रिय

ब्रेक्जिटको साँझ विशेष कार्यक्रम गर्ने बेलायतको तयारी

लण्डन - बेलायत सरकारले युरोपेली संघबाट आधिकारिक रुपमा बाहिरिने साँझ जनवरी ३१ का दिन विशेष कार्यक्रम गर्ने घोषणा गरेको छ। यो निर्णयले बेलायतका कतिपय व्यापारिक क्षेत्र भने प्रभावित हुनसक्ने बेलायतका राज्यकोष प्रमुख साजिद जाभिदले स्वीकार गरेका छन्।  उनले फाइनान्सियल टाइम्सलाई शनिबार अन्तरवार्ता दिँदै भविष्यमा युरोपेली संघसँग गठनबन्धन नगर्ने र यसले केही व्यापारलाई असर पर्ने बताएका छन्। अहिले युरोपेली संघ बेलायतको ठूलो व्यापार साझेदार हो।

‘अब कुनै गठबन्धन हुनेछैन, हामी एकल बजारमा रहनेछैनौँ, हामी सीमा शुल्क संघमा हुनेछैनौँ र यो वर्षको अन्त्यसम्ममा यो सबै गर्नेछौँ,’ उनले भनेका छन्। बेलायत जनवरी ३१ को राती औपचारिक रुपमा युरोपेली संघबाट बाहिरिँदै छ तथापि बेलायतले ११ महिनाको संक्रमणकालिन अवधिसम्म युरोपेली संघको नियमलाई पालना गर्नुपर्नेछ। युरोपेली संघ छोड्ने बेलायत पहिलो मुलुक हुनेछ। बेलायत सरकारले यसलाई उत्साहका रुपमा मनाउने तयारी गरेको छ।  

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले उक्त रात उत्तरी बेलायतमा मन्त्रीपरिषदको बैठक डाक्ने र त्यसपछि  राष्ट्रका नाममा सम्बोधन गर्ने जनाइएको छ। उक्त सम्बोधनका क्रममा उनले  आर्थिक रुपमा कमजोर क्षेत्रमा अवसर सिर्जना गर्ने बारेमा सरकारी योजनाका बारेमा जानकारी गराउने अपेक्षा गरिएको छ।  सरकारले लण्डनस्थित प्रधानमन्त्रीको सरकारी निवास टेन टाउन स्ट्रिमा ब्रेक्जिटबाट बाहिरिने काउन्टडाउन सुरु गर्ने र यो बेलुका अन्तिम निर्णय गर्ने समय अर्थात ११ बजेसम्म जारी रहने जनाइको छ।

बेलायतले सन २०१६ मा जनमत संग्रहबाट युरोपेली संघबाट बाहिर निस्कने निर्णय गरेको थियो। बेलायत उक्त संघबाट बाहिरिएसँगै युरोपेली संघमा २७ मुलुकमात्र बाँकी रहने छन्। बेलायत बाहिरिने प्रक्रिया भने अपेक्षा गरिएभन्दा ढिला भएको छ। ब्रेक्जिट विधेयक नयाँ संसद बस्नवित्तिकै पारित हुनेछ। संक्रमणकालिन अवधि भने २०२० को अन्त्यसम्म रहनेछ।

प्रकाशित: ५ माघ २०७६ ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App