६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

राजकुमार ह्यारी दम्पतीको निर्णयबारे छलफल

बेलायती शाही परिवार। तस्बिरः बिबिसी

लन्डन – शाही जिम्मेवारी त्याग्ने बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलको निर्णयबार सोमबार बेलायती राजपरिवारमा सामूहिक छलफल भएको छ। महारानी एलिजाबेथ द्धितीयासहित राजपरिवारका वरिष्ठ सदस्य र राजकुमार ह्यारीकाबीचमा छलफल भएको राजपरिवार श्रोतले जनाएको छ।

राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन आफ्नै तरिकाले काम गर्ने घोषणा गरेको विषयमै छलफल केन्द्रित भएको बताइएको छ। बैठकमा सहभागीले राजपरिवारको जिम्मेवारी त्याग्ने घोषणा फिर्ता लिएर पुनः पहिलेकै अवस्थामा फर्किन ह्यारी दम्पतीलाई आग्रह गरेका थिए।

ह्यारीका पिता तथा युवराज चाल्स र उनका दाजु विलियमलगायतले पनि ह्यारी दम्पतीलाई राजपरिवारको जिम्मेवारीमा फर्किन आग्रह गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्। ओमानका सुल्तान काबोसलाई श्रद्धाञ्जली दिन ओमन पुगेका युवराज चाल्स उताबाट फर्किएर बैठकमा सहभागी भएका थिए।

मेगन पनि बैठकमा सहभागी हुने अपेक्षा गरिएको थियो। उनलाई क्यानडाबाटै बैठकमा आउन आग्रह गरिएको थियो। व्यक्तिगत जीवनका लागि ह्यारी दम्पतीले फेरी ‘अर्को कदम’ चाल्न सक्ने अनुमान गरिएको छ। महारानी एलिजाबेथले समाधान खोज्दै गर्दा ह्यारी पत्नी मेगन भने केही दिन अगाडी नै क्यानडा पुगेकी थिइन्। ह्यारी र मेगन क्रिसमसको बिदा मनाउन छोरा आर्चीलाई लिएर क्यानडा गएर फर्किएपछि अप्रत्याशित रूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै शाही जिम्मेवारी त्याग्ने र आर्थिक रूपमा सम्पन्न हुन केही गर्ने घोषणा गरेका थिए।

ह्यारी र मेगनको घोषणाका कारण राजपरिवारमा खैलाबैला मच्चिएको छ। बकिङ्घम दरबार स्रोतका अनुसार यस्तो घोषणा गर्नुअघि राजकुमार ह्यारी र मेगनले राजपरिवारका कुनै सदस्यसँग परामर्श गरेका थिएनन्। राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने ह्यारी दम्पतीको घोषणापछि विभिन्न चरणमा भएका बैठक र परामर्शपछि सोमबारको छलफल भएको हो।

यसैबीच, दाजु राजकुमार विलियमसँगको व्यक्तिगत टकरावका कारण ह्यारीले शाही जिम्मेवारी त्याग गर्ने निर्णय लिएको भन्ने समाचार प्रकाशित भएपछि दुवैजनाले त्यसको खण्डन गरेका छन्। राजकुमार विलियम र राजकुमार ह्यारीले आफूहरुबीचको सम्बन्ध अप्ठेरो अवस्थाबाट गुज्रिएको भन्ने विवरण अस्वीकार गरेका हुन्।

ड्युक अफ ससिक्स भनिने राजकुमार ह्यारी र ड्युक अफ क्याम्ब्रिज भनिने राजकुमार विलियमले दुई वर्षको अवधिमा आफूहरूको सम्बन्धमा चिसोपन आएको भन्ने एक पत्रिकामा आएको विवरण अस्वीकार गरेका छन्। राजकुमार ह्यारी र राजकुमार विलियमको तर्फबाट प्रकाशित एउटा विज्ञप्तिमा समाचारमा आएका भड्काउने खालको भाषालाई आपत्तिजनक भनेर परिभाषितसमेत गरिएको छ।

राजकुमार ह्यारी दम्पतीले राजकुमार विलियमले लगातार धम्की दिएको र खेदो खन्ने काम गरेकाले शाही जिम्मेवारी त्याग्ने घोषणा गरेको ‘टाइम’ पत्रिकाले एउटा स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको थियो। राजकुमार विलियमले राजकुमार ह्यारी र उनकी श्रीमती मेगनलाई हेप्ने प्रवृत्ति देखाएको भन्ने विवरण मानसिक स्वास्थ्यका विषयमा निकै संवेदनशील रहेका दाजुभाइका लागि निकै हानिकारक हुनसक्ने विषय पनि संयुक्त विज्ञप्तिमा उनीहरुले उल्लेख गरेका छन्।

प्रकाशित: २९ पुस २०७६ ०६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App