१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

ट्रम्प भन्छन्, ‘अमेरिकी सेनालाई निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध’

अमेरिकी हमलामा मारिएका सैन्य कमान्डर कासिम सुलेमानीप्रति श्रद्धाञ्जली व्यक्त गर्न राजधानी तेहरानमा भेला भएका इरानी। तस्बिर ः एजेन्सी

तेहरान – संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव थप वृद्धि हुने संकेत देखिएको छ। अमेरिकासहित विश्वका ६ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको परमाणु सम्झौताको कुनै पनि प्रतिबन्ध नमान्ने तेहरानले घोषणा गरेको छ भने उता, वासिङ्टनले पनि यदि इराकबाट आफ्ना सैन्य फौजलाई निस्कन बाध्य पारिए उसविरुद्ध कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

परमाणु सम्झौता नमान्ने इरानको घोषणा
इरानले सन् २०१५ मा अमेरिकासहित विश्वका ६ शक्तिशाली राष्ट्रसँग गरेको अन्तर्राष्ट्रिय परमाणु सम्झौताका कुनै पनि प्रतिबन्धलाई नमान्ने घोषणा गरेको छ। अमेरिकी हवाई आक्रमणमा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला इरानको यस्तो घोषणा सार्वजनिक भएको हो।

एउटा वक्तव्यमार्फत् इरानले अब सन् २०१५ को परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रवद्र्धनको सीमालाई नमान्ने जनाएको छ। सो सम्झौतामा इरानको युरेनियम प्रवद्र्धन कार्यक्रमलाई सीमित गर्ने मुद्दालाई मुख्य बनाइएको थियो। तेहरानका अनुसार युरेनियमको भण्डारण र प्रवद्र्धनका लागि सो सम्झौताले तोकेको मात्राको अब उसले उपेक्षा गर्नेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष नै उक्त परमाणु सम्झौताबाट बाहिरिने निर्णय गर्दै इरानविरुद्ध नयाँ प्रतिबन्ध लगाएको भए पनि तेहरानले भने अझै सो सम्झौताका केही अंश पालना गरिरहेको थियो। उक्त सम्झौताका साझेदार जर्मनी, फ्रान्स तथा बेलायतले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै इरानलाई ‘थप हिंसात्मक गतिविधि’ नगर्न आग्रह गरेका छन्। अहिले तनाव कम गर्नु महत्वपूर्ण भएको भन्दै उनीहरूले सम्बन्धित सबैलाई संयमित र जिम्मेवार बन्न आह्वान गरेका छन्।

यसैबीच, इरान कुद्स फौजका नवनियुक्त प्रमुख एवं सुलेमानीका उत्तराधिकारीले मध्यपूर्वबाट अमेरिकालाई धपाइ छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘हामी सहीद सुलेमानीको बाटोमा उत्तिकै बलसहित हिँड्ने वाचा गर्छौं र हाम्रा लागि अमेरिकालाई यो क्षेत्रबाट हटाउनु मात्र क्षतिपूर्ति हो,’ नवनियुक्त प्रमुख इस्माइल कानीलाई उद्धृत गर्दै इरानी सरकारी रेडियोले भनेको छ।

विदेशी सेना फिर्ता पठाउने इराकी निर्णय
इराकी संसद्ले आइतबार विदेशी सेनालाई देश छोड्न लगाउनेबारको एउटा संकल्प प्रस्ताव पारित गरेको छ। उक्त प्रस्ताव इरानसँग निकट सम्बन्ध भएको मानिने सिया मुस्लिमहरुको संसदीय समूहले अघि सारेको थियो। लामो समयसम्म इराकमा रहेका अमेरिकी सेना स्वेदश फर्किएको भए पनि इस्लामिक स्टेटको गतिविधिमा वृद्धि भएपछि सो समूहलाई परास्त गर्नका लागि अमेरिकीसहित विदेशी फौजलाई पुनः इराक फर्कन निमन्त्रणा गरिएको थियो।

लडाकु समूह इस्लामिक स्टेटविरुद्ध युद्ध हुँदा बनेको अन्तर्राष्ट्रिय गठबन्धनअन्तर्गत अहिले इराकमा झन्डै पाँच हजार अमेरिकी सैनिक तैनाथ छन्। दुई देशबीच तनाव बढिरहेका बेला बग्दादस्थित अमेरिकी दूतावासमा थप क्षेप्यास्त्र प्रहार भएको समाचार आएको छ। बग्दादस्थित ‘ग्रिन जोन’ भनिने क्षेत्रमा रहेको दूतावासलाई लक्षित गर्दै चार पटक ‘अप्रत्यक्ष प्रहार’ गरिएको एउटा समाचार स्रोतले बिबिसीलाई बताएको छ। त्यहाँ कसैको मृत्यु भएको खबर भने आएको छैन।

अमेरिकी सेना निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध
इराकी संसद्ले अमेरिकी सेनालाई देश छोड्न भनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकविरुद्ध कडा प्रतिबन्ध लगाइदिने धम्की दिएका छन्। ‘हाम्रो निकै महँगो हवाई अखडा त्यहाँ छ। त्यो बनाउन अर्बौं डलर लागेको थियो। हामीलाई त्यो रकम नतिरेसम्म हामी इराक छोड्दैनौं,’ संवाददाताहरुसँग ट्रम्पले भने।

इराकी संसद्ले आइतबार पारित गरेको संकल्प प्रस्ताव बाध्यकारी नभए पनि प्रधानमन्त्री अदेल अब्दुल महदीले आफू अमेरिकी फौजलाई हटाउने पक्षमा रहेको बताएका छन्। राष्ट्रपतिको विमानमा सञ्चारमाध्यमका प्रतिनिधिसँग कुरा गर्दै ट्रम्पले यदि इराकले अमेरिकी सेनालाई अमित्रवत् रूपमा देश छोड्न भन्यो भने इराकविरुद्ध प्रतिबन्ध लगाउने बताए। ‘हामी इराकले यसअघि कहिल्यै नभोगेको प्रतिबन्ध लगाइदिनेछौं। त्यसले इरानविरुद्ध लगाइएको नाकाबन्दीलाई पनि फिक्का पारिदिनेछ,’ उनले बताए।

एता, अमेरिकी सैन्यबल हट्नुपर्ने भन्दै इराकको संसद्बाट पारित एउटा संकल्प प्रस्तावप्रति अमेरिकी विदेश मन्त्रालयले भने निराशा व्यक्त गरेको छ। वासिङ्टनले इराकी नेताहरुलाई दुई देशबीचको साझेदारीको महŒवबारे विचार गर्न आग्रह गरेको छ।

तेहरानमा हजारौं इरानी भेला
इरानी सैन्य कमान्डर कासिम सुलेमानीको अन्तिम श्रद्धाञ्जलीका लागि राजधानी तेहरानमा हजारौंको भीड लागेको छ।
गत शुक्रबार इराकको राजधानी बग्दादस्थित विमानस्थलमा गरिएको अमेरिकी ड्रोन हमलामा सुलेमानी मारिएका थिए। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले पनि सैन्य कमान्डर सुलेमानीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। श्रद्धाञ्जली अर्पण गर्ने क्रममा उनी रोइरहेको तस्बिरसमेत सार्वजनिक भएका छन्।

आफ्ना उच्च सैन्य कमान्डर मारिएपछि निकै नै आक्रोशित बनेको इरानले त्यसको कडा बदला लिने चेतावनी दिइसकेको छ भने विश्वका ६ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा गरिएको आणविक सम्झौताबाट पनि हात झिक्ने घोषणा आइतबार नै गरिसकेको छ।

इरानको कुलीन ‘क्रुद्स फौज’का प्रमुखका रूपमा ६२ वर्षीय सुलेमानीले मध्यपूर्वमा इरानको राष्ट्रिय स्वार्थ पूरा गर्न र इरानी प्रभावलाई वृद्धि गर्न कैयौं सैन्य अपरेसनको नेतृत्व गरेका थिए। उनले आफ्नो सेवाकालमा सिरियाको गृहयुद्धमा राष्ट्रपति बसर अल–असद, लेबनानमा सिया लडाकु समूह हेजबुल्लाह र इस्लामिक स्टेटविरुद्ध इराकी लडाकु समूहलाई समर्थन र सहयोग गरेका थिए।

सुलेमानीलाई इरानमा राष्ट्रिय नायकका रूपमा लिइन्थ्यो र देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीपछि शक्तिशाली व्यक्तिका रूपमा समेत हेरिन्थ्यो। संयुक्त अधिराज्य अमेरिकाले भने सुलेमानीलाई आतंकवादीका रूपमा हेर्ने गरेको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले त सुलेमानीले अमेरिकी कूटनीतिज्ञ र सैन्य अधिकारीमाथि आक्रमणको योजना बुनिरहेकै कारण उनी मारिएको दाबी गर्दै आएका छन्।

सुलेमानीको अन्त्येष्टिमा के भयो ?
सुलेमानीको अन्त्येष्टिमा ठूलो भीड लागेको राज्य संचालित टेलिभिजनले प्रसारण गरेको थियो। सो टेलिभिजनले सुलेमानीको अन्त्येष्टिमा लाखौं मानिस सहभागी भएको बताए पनि यसको पुष्टि भने हुने बाँकी छ। अन्त्येष्टिमा सहभागी इरानी नागरिक रोइरहेको भिडियो फुटेज पनि राज्य संचालित टेलिभिजनले प्रसारण गरेको थियो। अन्त्येष्टिमा सहभागीले अमेरिकाविरोधी नारा पनि लगाएका थिए।

सुलेमानीकी छोरी जेइनाब सुलेमानीले आफ्नो पिताको हत्याका बदलामा अमेरिकाले ‘कालो दिनको सामना गर्नुपर्ने’ चेतावनी दिएकी छन्। ‘मेरो पिताको साहदतसँगै सबै कुरा सकियो भनेर नसोच,’ उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई चेतावनी दिइन्। उनले ट्रम्पलाई ‘पागल’को संज्ञासमेत दिएकी छन्।

सोमबारको अन्त्येष्टिपछि मंगलबार सुलेमानीको अवशेष उनको गृहनगर कर्मानमा दफन हुनुअघि एक समारोहका लागि सिया मुसलमानको एउटा केन्द्र क्विमा लगिनेछ।

प्रकाशित: २२ पुस २०७६ ०२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App