७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘अमेरिकी अधिकारीको सुरक्षाका लागि इराकी प्रधानमन्त्री प्रतिबद्ध’

ढुंगाले हानेर बग्दादस्थित अमेरिकी दूतावासको सुरक्षा पोस्टको सिसा फुटाउन खोज्दै इराकी प्रदर्शनकारी। तस्बिर ः एजेन्सी

वासिङ्टन – इराकी प्रधानमन्त्री अदेल अब्देल मेहदीले इराकमा रहेका अमेरिकी अधिकारीहरुको सुरक्षाका लागि चिन्ता नलिन अमेरिकालाई आश्वासन दिएका छन्। इराकस्थित अमेरिकी राजदूतावास नजिकै हिंसात्मक विरोध प्रदर्शन भइरहेका समय प्रधानमन्त्री अदेल अब्देल मेहदीले इराकमा अमेरिकी अधिकारीहरुको सुरक्षाका लागि चिन्ता नलिन आश्वासन दिएको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बिहीबार जानकारी दिएका छन्।

‘इराकी प्रधानमन्त्री मेहदीसँग बिहीबार मेरो कुराकानी भएको छ। त्यस अवसरमा प्रधानमन्त्री मेहदीले इराकमा रहेका सबै अमेरिकी अधिकारीलाई सुरक्षित राख्ने जिम्मेवारी आफ्नो मुलुकको सुरक्षाकर्मीको हुने बताएका छन्,’ अमेरिकी विदेशमन्त्री पोम्पेओले ट्विट गरेका छन्।

‘इराकी सुरक्षा दस्ताले इरानको समर्थन प्राप्त आक्रमणकारीलाई अमेरिकी राजदूतावासबाट हटाउन थालिसकेको छ। हामीले आक्रमणमा जिम्मेवार इरान र उसको समर्थन प्राप्त समूहलाई हटाउने कामलाई निरन्तरता दिनेछौं,’ पोम्पेओको ट्विट छ।

अमेरिकाले इराक र सिरियामा गरेको हवाई आक्रमणपछि इरानी समुदायको नजिक मानिने इराकी सिया प्रदर्शनकारीले मंगलबार इराकस्थित अमेरिकी राजदूतावासको बाहिरी क्षेत्रमा आगजनी गरेको स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सम्प्रेषित भिडियोमा देखाइएको थियो। बग्दादस्थित अमेरिकी दूतावास आक्रमण प्रयासपछि विदेशमन्त्री पोम्पेओले युक्रेनका लागि तय गरेको भ्रमण स्थगित गरेका छन्।

इराकमा गत अक्टोबरदेखि भएको भ्रष्टाचारविरूद्धको वैधानिक अभियान अर्थात् प्रयासलाई अस्पष्ट पार्न ‘इरानी सत्ताले आक्रमणका लागि गोप्य रूपमा नाटक रचेको’ र यसमा आतंकवादीहरुलाई अघि सारिएको दाबी अमेरिकी विदेशमन्त्री पोम्पेओले गरेका छन्।

‘इराकले आफ्नो भूमिमा विदेशी नागरिकको सुरक्षाका लागि गरेको प्रतिबद्धतापछि राजदूतावास वरपरको अवस्थामा सुधार आएको छ तर इराकले लडाकु समूहका सदस्यलाई राजदूतावास क्षेत्रबाट हटाउन आवश्यक हुनेछ,’ अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता मोर्गन अर्टागसले इराकमा भएका पछिल्लो राजनीतिक विकासक्रमको प्रशंसा गर्दै बताएका छन्।

इरानको समर्थन रहेको भनिएको कताइब हेज्बुल्लाह लडाकु समूहसँग आवद्ध व्यक्तिले मंगलबार इराकस्थित अमेरिकी राजदूतावासको झ्यालहरु फुटाएको र बाहिरी भवनमा आगजनीसमेत गरेको अमेरिकाले बताएको छ। बुधबारमात्रै पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावास आक्रमणको पछाडि इरानको संलग्नता रहेको आरोप लगाउँदै यदि आफ्ना नागरिकलाई केही भए तेहरानले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए।

आफ्नो दूतावास आक्रमणमा इरानी संलग्नता रहेको अमेरिकाले आरोप लगाए पनि तेहरानले भने त्यसमा कुनै सत्यता नभएको भन्दै खण्डन गरिरहेको छ। तेहरान समर्थित लडाकु समूहले गत शुक्रबार गरेको एउटा आक्रमणमा परी एक अमेरिकी ठेकेदारको मृत्यु भएको बदलामा अमेरिकाले हवाई आक्रमण गर्दा गत आइतबार करिब २५ लडाकुको मृत्यु भएको थियो भने ५१ जना घाइते भएका थिए।

लडाकु मारिएको विरोधमा एक समूहले बुधबार इराकस्थित अमेरिकी राजदूतावासमा आगजनीको प्रयास गरेको थियो। सो समूहले दूतावासको सुरक्षामा बनाइएको सुरक्षा पोस्टमा समेत क्षति पु-याएका थिए। इराकी प्रदर्शनकारी दूतावास परिसरमै प्रवेश गर्न खोजेपछि सुरक्षार्थ खटिएका अमेरिकी सैनिकले उनीहरु लक्षित अश्रुग्यासमेत प्रहार गरेका थिए।
    

 

प्रकाशित: १८ पुस २०७६ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App