coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नववर्षको सुरुआत्सँगै हङकङका प्रदर्शन

हङकङमा नववर्षको अवसरमा आयोजित सरकारविरोधी प्रदर्शनका सहभागी। तस्बिर: एजेन्सी

हङकङ – हङकङका लोकतन्त्र पक्षधर प्रदर्शनकारीले प्रदर्शनसँगै नववर्षको सुरुवात गरेका छन्। अधिकांश क्षेत्रको प्रदर्शन शान्तिपूर्ण भए पनि केही क्षेत्रमा भने हिंसा फैलिएको थियो। साथै, केही स्थानमा प्रहरीले प्रदर्शनकारीलक्षित अश्रुग्याससमेत प्रहार गरेका थिए।

हजारौंको संख्यामा भेला भएर नववर्षको अघिल्लो रात हङकङमा लोकतन्त्रवादीले प्रदर्शन गरेका हुन्। मानवसाङ्लो बनाएर ती प्रदर्शनकारीले हङकङका प्रमुख सडकमा प्रदर्शन गरेका थिए। नववर्षलाई स्वागत गर्न भेला भएका प्रदर्शनकारीले ‘स्वतन्त्र हङकङ र नयाँ क्रान्तिजस्ता नारा लगाएका थिए।’

मध्यरातमा प्रदर्शन हुन थालेपछि केही स्थानमा प्रहरीले प्रदर्शनकारीलाई लक्षित गर्दै अश्रुग्यास र पानीको फोहोरासमेत प्रहार गरेको थियो। यसैबीच, ४० भन्दा बढी हङकङ सांसदले प्रमुख कार्यकारी क्यारी लामलाई नववर्षको शुभकामना पत्र पठाउँदै ‘हङकङवासीको चाहना सम्बोधन गर्न नयाँ समाधानको बाटो निकाल्न आग्रह गरेको’ विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

हङकङमा विगत ६ महिनाभन्दा लामो समयदेखि सरकारविरोधी प्रदर्शन भइरहेका छन्। मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे हङकङ सरकारले संसद्मा विधेयक प्रस्तुत गरेपछि सरकारविरोधी प्रदर्शन सुरु भएको थियो। विवादित सुपुर्दगीसम्बन्धी प्रस्ताव सरकारले खारेज गरिसकेको भए पनि हङकङमा प्रदर्शन जारी छ। सरकारले ढिला गरी गत अक्टोबर २३ का दिन औपचारिक रूपमै सो विधेयक फिर्ता लिएको थियो।

शंकास्पद संदिग्धलाई मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे ल्याइएको विधेयकको विरुद्धमा हजारौं मानिस सडकमा उत्रिएर प्रदर्शन गरेपछि हङकङको प्रमुख नेतृत्वले सुरुमा सो विधेयक स्थगित मात्रै गरेको थियो। प्रदर्शन निरन्तर रूपमा अघि बढेपछि मात्रै गत अक्टोबरमा हङकङको संसद्ले विधेयक फिर्ता लिएको थियो।

सुरुमा सुपुर्दगी विधेयक फिर्ता लिनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन आयोजना गरिएको भए पनि विस्तारै हङकङ प्रदर्शन बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित भएको थियो। ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गतको व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ।

विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ। प्रस्तावित सुपुर्दगी विधेयकले हङकङको न्यायिक स्वतन्त्रतामा कमी आउने भन्दै प्रदर्शन सुरु भएको भए पनि पछिल्ला केही महिनादेखि हङकङका प्रदर्शनकारीले विशेषतः पाँचवटा माग अघि सारेका छन्। जसमा, प्रशासनले प्रदर्शनलाई ‘दंगा’ भनेर परिभाषित गरेकाले सो फिर्ता हुनुपर्ने, पक्राउ परेका सबैलाई माफी दिइनुपर्ने, प्रदर्शनकारीमाथि प्रहरीद्वारा गरिएको बल प्रयोगको जाँचबुझका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने र हङकङको प्रमुख कार्यकारी निर्वाचनका लागि विश्वव्यापी मान्यता प्राप्त हुनुपर्ने  रहेका छन्।

हङकङमा लामो समयदेखि प्रदर्शन जारी रहेका कारण यो विषय मुख्यभूमि चीनका नेताहरुलाई समेत टाउको दुखाई भएको छ। बेइजिङका नेताहरुले हङकङमा विकसित पछिल्लो घटनाक्रम विखण्डनवादीको खतरनाक खेल भएको र त्यसलाई विदेशी शक्तिले सहयोग गरिरहेको आरोप लगाउँदै आएका छन्।

प्रस्तावित सुपुर्दगी विधेयकमा मूख्यभूमि चीनबाट अपराधिक कार्यमा संलग्न ताइवान र मकाउका संदिग्धलाई  सुपुर्दगीको अनुरोध आएमा हङकङ अदालतले हरेक मुद्दाका आधारमा गरेको निर्णयबमोजिम सुपर्दगी गर्न सकिने व्यवस्था गरिएको थियो।

ताइवानमा बिदा मनाउन गएका बेला हङकङका एक व्यक्तिले आफ्नी केटी साथीको हत्या गरेको आरोप लागेपछि ताइवान सुपुर्दगी गर्न नसकेको सन्दर्भ पारेर नयाँ विधेयक अघि सारिएको थियो। प्रमुख कार्यकारी क्यारी लामसहित हङकङका अधिकारीहरुले सहरलाई अपराधीबाट बचाउन त्यस्तो कानुन आवश्यक रहेको बताउँदै विधेयक ल्याउन लागेका थिए। तर कैयौं आलोचकले भने चीनको राजनीतिक विपक्षीलाई लक्षित गर्न यो विधेयक प्रयोग हुन सक्नेतर्फ पनि शंका व्यक्त गरेका थिए।

औपचारिक रूपमै विवादित विधेयक फिर्ता लिने निर्णय गरे पनि यसले आक्रोशित प्रदर्शनकारीका पाँचमध्ये एउटा मात्रै मागको सम्बोधन भएको भन्दै लोकतन्त्र पक्षधर प्रदर्शनकारीले आफ्ना पाँचवटै माग पूरा हुनुपर्ने भन्दै प्रदर्शनलाई निरन्तरता दिँदै आएकै बेला हङकङमा गत नोभेम्बरमा जिल्ला परिषद्को निर्वाचन सम्पन्न भएको थियो। सो निर्वाचनमा १८ मध्ये १७ जिल्ला परिषद्मा लोकतन्त्र पक्षधरको जित भएको थियो।

हङकङ पोलिटेक्निक विश्वविद्यालयमा भेला भएका प्रदर्शनकारीलाई गत महिना त्यहाँबाट हटाउन प्रहरी सफल भएसँगै हङकङको प्रदर्शन केही मत्थर भएको भए पनि नयाँ वर्षलाई स्वागत गर्ने क्रममै पुनः प्रदर्शन सुरु भएको छ।

प्रकाशित: १७ पुस २०७६ ०१:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App