१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

नेता किमले गरे उच्चस्तरीय नेताहरुसँग छलफल

उच्चस्तरीय बैठकपछि पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन। तस्बिरः एजेन्सी

सोल – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले देशका उच्चस्तरीय नेताहरुसँग छलफल गरेका छन्। संयुक्त राज्य अमेरिकासँगको उच्चस्तरीय आणविक वार्ता गर्ने यसअघिको सहमतिविपरीतवार्ता स्थगित गरिएको अवस्थामा उनले सत्तारुढ वर्कर्स पार्टीका उच्च नेताहरुसँग गरेको यो छलफललाई अर्थपूर्ण रूपमा लिइएको छ।

नेता किमसहितको उच्चस्तरीय राजनीतिक छलफलमा के कस्ता विषयमा छलफल भयो भन्ने बारेमा व्यापक मात्रामा चासो बढेको छ। छलफल शनिबारबाट सुरु भएको र आइतबार पनि जारी रहेको बताइएको छ। कतिपयले अमेरिकासँग गर्ने भनिएको यस अघिको उच्चस्तरीय आणविक वार्ताको बारेमा छलफलमा कुराकानी भएको अनुमान गरेका छन् भने कतिपयले भने उक्त बैठकमा यस विषयमा नभएर अर्काे आणविक परीक्षणको तयारीको बारेमा छलफल भएको पनि अनुमान गरेका छन्।

उत्तर कोरियाले केही दिन अघि आणविक परीक्षण गरेको थियो। अमेरिकाले आगामी क्रिसमसमा कस्तो उपहार खोजेको हो भन्ने प्रश्न गर्दै उत्तर कोरियाले उसले खोजेको उपहार यस्तै प्रकारको आणविक परीक्षण पनि हुनसक्ने भन्दै चेतावनी दिएको थियो।

त्यसैले शनिबारबाट सुरु भएको छलफलमा थप आणविक परीक्षणका विषयमा कुराकानी भएको हुनसक्ने अनुमान धेरैले गरेका छन्। उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले भने उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीले प्रतिरक्षाको विषय तथा देश निर्माणका अन्य विभिन्न महत्वपूर्ण विषयवस्तुमा कुराकानी गर्ने जानकारी दिएको छ।

यो वर्षको सुरुवातमै भियतनामको राजधानी हनोईमा भएको उच्चस्तरीय वार्तापछि उत्तर कोरिया र अमेरिकाको प्रत्यक्ष वार्ता भएको छैन। उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रत्यक्ष रूपमा भएको दोस्रो शिखर बैठक बिनानिष्कर्ष टुंगिएको थियो। त्यसअघि इतिहासमै पहिलो पटक बहालवाला अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच सन् २०१८ को जुन १२ मा सिंगापुरमा पहिलो शिखर बैठक भएको थियो।

सिंगापुर बैठकमा उत्तर कोरियाले आणविक परीक्षण नगर्ने तथा कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्ने विषयमा दुई नेताबीच सहमति भएको थियो। सोही बमोजिम उत्तर कोरियाले आफ्ना केही आणविक परीक्षणस्थल ध्वस्त गरेको दाबीसमेत गरेको थियो। दोस्रो शिखर बैठक भने त्यत्ति सौहार्दपूर्ण हुन सकेन। उत्तर कोरियाले आफूमाथि लाग्दै आएका सबै प्रतिबन्ध हट्नुपर्ने शर्त हनोई बैठकमा प्रस्तुत गरेको थियो। अमेरिकाले भने उत्तर कोरियाले सिंगापुर बैठकै सहमति पूर्ण रूपमा पालना नगरेको भन्दै उसले पूर्ण रूपमा आणविक कार्यक्रम नत्यागेसम्म उसविरुद्धको प्रतिबन्ध नहट्ने जनाएपछि दुई नेताबीचको शिखर बैठक बिनानिष्कर्ष टुंगिएको थियो।

हनोई बैठकपछि अमेरिका र उत्तर कोरियाबीच प्रत्यक्ष वार्ता वा छलफल हुन सकेको छैन। यहीबीचमा उत्तर कोरियाले यसै वर्षको अन्त्यसम्म अमेरिकालाई पर्खने चेतावनी दिएको थियो। उसले दिएको समयसीमा सकिन केही समयमात्रै बाँकी रहेकै बेला शक्तिशाली वर्कर्स पार्टीको बैठक आयोजना गरिएकाले विश्वभरबाट अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित: १४ पुस २०७६ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App