१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

अल्जेरियाका नवनिर्वाचित राष्ट्रपतिद्वारा वार्ताको आह्वान

अल्जेरियाका नवनिर्वाचित राष्ट्रपति अब्देलमाजिद ताबुन। तस्बिरःएजेन्सी

अल्जियर्स – अल्जेरियाका नवनिर्वाचित राष्ट्रपति अब्देलमाजिद ताबुनले वार्तामा आउन सवैलाई आह्वान गरेका छन्। असन्तुष्ट र आन्दोलनरत सबै पक्षलाई उनले वार्तामार्फत् नै निकास निकाल्न आह्वान गरेको समाचारमा जनाइएको छ।  
उनले वार्तामार्फत् आन्दोलनकारीको जायज माग सम्बोधन गर्न आफू सधैँ तयार रहेको पनि स्पष्ट पारेका छन्।

नयाँ राष्ट्रपति चयनका लागि अल्जेरियामा बिहिबार भएको निर्वाचनबाट पूर्वप्रधानमन्त्रीसमेत रहेका ताबुन राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनलाई निर्वाचन आयोगले शुक्रबार देशको आठौं राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो।

राष्ट्रपति निर्वाचित भएपछि पत्रकारसँगको कुराकानीका क्रममा उनले असन्तुष्ट र आन्दोलनरत सबै पक्षसँग वार्ता गर्ने आफ्नो पहिलो कार्यभार भएको उल्लेख गरेका छन्। उनले देशको राजनीतिमा तात्विक परिवर्तन गराउने र पुरानो प्रणालीलाई नयाँ रूपमा ल्याउने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन्। ‘आफ्नो अर्को प्राथमिकता भनेको नयाँ संविधान बनाउनु पनि हो,’ उनले पत्रकारसँग भने, ‘त्यसका लागि धेरै फराकिलो दायरामा छलफल गर्न म तयार छु।’
अल्जेरियालाई नयाँ तरिकाले अगाडि बढाउनका लागि सामाजिक, आर्थिक, बौद्धिक र राजनीतिक क्षेत्रका अगुवा र नागरिक अधिकारकर्मीसँग छलफल गरेर संविधानको मस्यौदा बनाउने उनको भनाइ छ।

उनले निर्वाचनसम्वन्धी कानुनमा पनि केही संशोधन गर्ने आश्वासन दिएका छन्। निर्वाचन कानुन ठिक नभएको भन्दै आन्दोलनकारीले प्रदर्शन गरिहेका बेला उनले सो कानुन संशोधन हुने आश्वासन दिएका हुन्। निर्वाचन कानुनमा सुधार नगरी चुनाव गरिएकाले अल्जेरियामा राजनीतिक स्थिरता नहुने प्रदर्शनकारीले दाबी गर्दै आएका छन्। अनेक असन्तुष्टिका कारण अल्जेरियामा झण्डै १० महिनादेखि आन्दोलन हुँदै आएको छ।

आन्दोलनकाबीच राष्ट्रपति चयनका लागि गत बिहीबार निर्वाचन भएको हो। निर्वाचनमा प्रतिस्पर्धा गरेकामध्ये अत्यधिक धेरै मतान्तरले विजयी भएका ताबुन झण्डै दुई दशकदेखि राष्ट्रपतिका रूपमा शासन गरेका अब्देलाजिज बोटेफ्लिकाको उत्तराधिकारी बनेका छन्।

अफ्रिकी मुलुक अल्जेरियाका तत्कालीन राष्ट्रपति बोटेफ्लीकाले गत अप्रिल मै आन्दोलनकारीको चर्को दबाबपछि राजीनामाको घोषणा गरेका थिए। उनी आफंै फेरि उम्मेदवार बन्ने बताएपछि आन्दोलनकारीले उनलाई राजीनामा दिन र उम्मेदवार नबन्न माग गर्दै आन्दोलन गरेका थिए।

वृद्ध र बिरामी हुनुका साथै लामो समयदेखि शासन गरेकाले ८२ वर्षीय वृद्ध र बिरामी राष्ट्रपति अब्देलाजिजलाई पाँचौँ कार्यकालमा पनि जिम्मेवारीमा नआउन उनीहरूले माग गरेका थिए। त्यही दबाबअनुसार उनले केही समयपछि राजीनामा दिएका थिए।

त्यसपछि पनि आन्दोलन जारी रहेको थियो। आन्दोलनकै कारण गत जुलाई ४ का लागि तोकिएको निर्वाचन सारेर गत बिहीबार डिसेम्बर १२ का दिन गरिएको थियो। त्यतिबेला निर्वाचन अहिलेलाई सारेर अब्देलकादेर बेनसालाहलाई अन्तरिम राष्ट्रपति बनाइएको थियो। अन्तरिम राष्ट्रपतिले गराउन लागेको निर्वाचन पनि निष्पक्ष र स्वतन्त्र हुन नसक्ने भन्दै अन्दोलनकारीले प्रदर्शनलाई जारी राखेका थिए।

निर्वाचनको दिन बिहीबार पनि उनीहरूले अल्जियर्समा प्रदर्शन गरेका थिए। दशौं हजार आन्दोलनकारीले विरोध प्रदर्शनका क्रममा कतिपय मतदान केन्द्रसमेतमा आक्रमण गरेको र अवरोधको प्रयास गरेका थिए।  
आन्दोलन र विरोधकाबीच भएको निर्वाचनबाट ७४ वर्षीय ताबुनले ५८.१५ प्रतिशत मत प्राप्त गरी राष्ट्रपति निर्वाचित भएका हुन्।

उनीसँगै प्रतिस्पर्धामा उत्रिएका मध्ये अब्डेलकाडेर बेन्ग्रीनाले १७.३८ प्रतिशत मत प्राप्त गरेर दोस्रो भएको निर्वाचन आयोगले जनाएको छ। त्यसैगरी तेस्रो भएका अली बेन्फ्लीसले १०.५५ प्रतिशत, चौथो भएका अज्जेड्डिन मिहौबीले ७.२६ प्रतिशत र पाँचौं ुभएका अब्डेलाजिज बेलैडले ६.६६ प्रतिशत मात्रै मत प्राप्त गरेका छन्।

प्रकाशित: २९ मंसिर २०७६ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App