६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

तालिबानसँग पुनः वार्ता हुन्छ: अमेरिकी विदेशमन्त्री

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ

वासिङ्टन – अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्त राज्य अमेरिका र अफगान विद्रोही तालिबान समूहसँग भविष्यमा पुनः वार्ता हुने विश्वास व्यक्त गरेका छन्। अमेरिकी टेलिभिजन फक्स न्युजलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री पोम्पेओले गत बिहीबार अफगानिस्तानमा तालिबानको कार बम आक्रमणका कारण एक अमेरिकी सैनिकको मृत्यु भएपछि हालका लागि वार्ता ‘मृततुल्य’ भएको बताए।

‘मलाई विश्वास छ चाँडै नै वार्ता सुरु हुनेछ,’ पोम्पेओले बताए। उनले वार्ताका क्रममा तालिबान समूहले देखाएको लचकता व्यवहारमा नदेखिएको गुनासोसमेत गरे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शनिबार अफगान विद्रोही तालिबान र अफगान सरकारका प्रतिनिधिसँग अमेरिकाको क्याम्प डेभिडमा आयोजना गर्न लागेको गोप्य बैठक एकपक्षीय रुपमा रद्द गरेका थिए।

राष्ट्रपति ट्रम्पले तालिबान समूहले गत साता काबुलमा गराएको कार बम आक्रमणबाट एक जना अमेरिकी सैनिकसमेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको बताएका थिए। शनिबार ट्विट गर्दै राष्ट्रपति ट्रम्पले अफगान विद्रोही समूह तालिबानसँगको शान्ति प्रक्रिया पनि स्थगन गरिएको घोषणा गरेका छन्।

आतंकवादी संगठन अल–कायदाले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा गरेको भीषण आक्रमणको वार्षिक स्मृति दिवसको पूर्वसन्ध्यामा क्याम्प डेभिडमा अमेरिकी राष्ट्रपति ट्रम्प र अफगान विद्रोही तालिबानबीच बैठक हुन लागेको थियो।

फ्रान्सेली समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकामा आक्रमणलगत्तै अल–कायदाका नेता ओसामा बिन लादेन लुकेर बसेको अफगानिस्तानमा अमेरिकाले आक्रमण गरी तत्कालीन तालिबानी सरकारलाई अपदस्थ गरेको थियो। अल–कायदा र तालिबानविरुद्ध सन् २००२ यता भएका कारबाहीका क्रममा अफगानिस्तानमा दुई हजार ४ सय भन्दाबढी अमेरिकी सैनिकको ज्यान गइसकेको छ।

तालिबानसँगको वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको छ। प्रस्तावित अमेरिका–तालिबान सम्झौताअनुसार अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना ५ हजार ४ सय सेना २० साताभित्र फिर्ता लाने र त्यसको बदलामा तालिबानले अफगानिस्तान अब कहिल्यै आतंकवादीको शिविरका रूपमा प्रयोग गर्न नदिने भन्ने विषय रहेको थियो।

हाल अफगानिस्तानमा १४ हजार अमेरिकी सैनिक तैनाथ छन्। झण्डै १८ वर्ष देखि अफगानिस्तानमा रहेका अमेरिकी सेनाले हाल अफगान सेनालाई तालिम, सल्लाह र हवाइ सुरक्षा प्रदान गर्दैै आएको छ। अफगान मामिलासम्बन्धी अमेरिकी विशेषदूत जाल्मे खलिलजादले हालै मात्र तालिबान समूहसँगको वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए। खलिलजाद र तालिबान प्रतिनिधिबीच खाडी राष्ट्र कतारको राजधानी दोहामा नौ चरणसम्म भएको वार्ताको प्रतिफलस्वरुप शान्ति सम्झौता भएको थियो। तर राष्ट्रपति ट्रम्पमाथि अफगान सरकार र केही अमेरिकी सांसदहरुले अमेरिकी सैनिक तत्काल फिर्ता गर्न नहुने भन्दै दबाब दिइरहेका थिए।

‘मुख्य तालिबान नेताहरु र अफगानिस्तानका राष्ट्रपतिसँग अलग्गै आइतबार क्याम्प डेभिडमा गोप्य भेटघाटको समय मिलाइएको थियो र यसलाई गोप्य राखिएको थियो,’ ट्रम्पले ट्विटमा भनेका छन्। ‘उनीहरु संयुक्त राज्य अमेरिका आजै राति आउँदै थिए। दुर्भाग्यबस, उनीहरुले काबुलमा आक्रमण गरे जसका कारण एक जना बहादुर अमेरिकी सैनिक र अन्य ११ जनाको मृत्यु भयो। मैले तत्कालै बैठक रद्द गरेँ र वार्ता प्रक्रिया रोकेको छु,’ ट्रम्पले गरेको ट्विट उद्धृत गर्दै एएफपीले उल्लेख गरेको छ।

तालिबान समूहले गत बिहीबार काबुलको अमेरिकी राजदूतावास नजिकै गरेको कारबम विस्फोटमा एक जना अमेरिकी सैनिक, नेटो सम्बद्ध एक रोमानियाली सैनिक र १० जना सर्वसाधारणको ज्यान गएको थियो। अमेरिका–तालिबान वार्ता जारी रहेकै अवधिमा पछिल्ला केही दिनदेखि तालिबानले देशव्यापी रूपमा शृंखलाबद्ध बम बिस्फोट गराइरहेको छ। तालिबान समूहले अमेरिकाले वार्ता स्थगित गरेमा त्यसबाट अमेरिकालाई नै बढी क्षति हुने चेतावनी दिएको छ।

ट्रम्पको घोषणा बाहिरिएलगत्तै तालिबानले त्यसको प्रतिक्रिया दिएको हो। उसले शान्ति सम्झौता रद्द गरे अमेरिकाले निकै पछुताउनु पर्ने चेतावनी पनि दिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबारे ‘आपतकालीन आन्तरिक बैठक’को तयारी भइरहेको कतारको दोहास्थित तालिबानको राजनीतिक कार्यालयको स्रोतले बताएको छ।

प्रकाशित: २४ भाद्र २०७६ ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App