१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

गाजा सीमाक्षेत्रमा तीन प्यालेस्टिनी मारिए

गाजा सिटी– उत्तरी गाजापट्टीमा इजरायली सेनाले चलाएको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। गाजापट्टीबाट तीन वटा क्षेप्यास्त्र प्रहार भएको केही घण्टापछि नै इजरायली सेनाले गरेको कारबाहीमा तीन प्यालेस्टिनीको ज्यान गएको हो।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले अर्का एक प्यालेस्टिनी सख्त घाइते अवस्थामा अस्पतालमा उपचार गराइरहेको जनाएको छ। इजरायली सेनाले हेलिकप्टर र ट्याँकको सहायताले गाजा–इजरायल छुट्याउने सीमानजिक शंकास्पद आक्रमणकारीमाथि कारबाही गरेको जनाएको छ। 

इजरायली सेनाले गरेको ट्वीटमा इजरायली तारबार लगाइएको क्षेत्रमा गाजाबाट शंकास्पद व्यक्तिहरु आएको सूचना पाएपछि कारबाही गरिएको जनाएको छ। 

हमास प्रशासित गाजापट्टीमा प्यालेस्टिनीहरुले दक्षिण इजरायलमा गत शनिबार तीनवटा क्षेप्यास्त्र आक्रमण गरेपछि पछिल्लो हिंसा भड्किएको हो। 

सन् २०१८ मार्चदेखि चौतर्फी घेराबन्दीमा परेको गाजापट्टीमा नियमितझैं प्रदर्शन र झडप भइरहेका छन्। त्यसयता गाजामा इजरायली कारबाहीमा कम्तीमा ३०५ जनाको मृत्यु भइसकेको छ। यी झडपमा सात जना इजरायलीको पनि ज्यान गएको छ। एएफपी

प्रकाशित: १ भाद्र २०७६ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App