७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बाल विवाह अन्त्य गर्न राष्ट्रिय अभियान सार्वजनिक

अदिस अबाबा – अफ्रिकी मुलुक इथियोपियाले बाल विवाह र महिलाको योनीछेदन प्रचलनको अन्त्य गर्नेगरी पाँच वर्षे राष्ट्रिय योजना बुधबार सार्वजनिक गरेको छ।

इथियोपियाली महिला, बालबालिका तथा युवा मन्त्री यालेम चेगायेले पाँच वर्षे नयाँ मार्गचित्रले आगामी सन् २०२५ भित्रमा मुलुकका यी दुई प्रमुख सामाजिक समस्या अन्त्य गर्न ठूलो सहयोग गर्ने विश्वास व्यक्त गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

बाल विवाह र योनीछेदनको यो समस्या अन्त्य गर्न पाँच वर्षभित्र करिब नौ करोड ३० लाख अमेरिकी डलर खर्च हुनेछ। यस योजनामा खासगरी व्यापक प्रचारप्रसार गर्ने, नीतिगत सुधार गर्ने, सेवा केन्द्रहरुको स्थापना गर्ने तथा घटनाको तथ्यांक संकलन गर्ने कार्यक्रम राखिएको बताइएको छ।
इथियोपियाली समुदायमा बाल विवाह र महिलाको योनीछेदनलाई प्रमुख दुई समस्याका रूपमा पहिचान गरिएको छ। स्वास्थ्य र सामाजिक आर्थिक प्रभावका कारण पनि यी दुई समस्या समाजमा रहेको विश्वास गरिन्छ।

नयाँ घोषणा गरिएको मार्गचित्रलाई सरकारका विभिन्न निकायबीचको सहकार्यबाट सञ्चालन गरिनेछ। इथियोपियाली महिला, बालबालिका तथा युवा मन्त्रालयले स्वास्थ्य, शिक्षा, अर्थ, श्रम र सामाजिक कल्याणका साथै अरु दातृ निकायसँग सहकार्य गर्दैछ। संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)का अनुसार इथियोपियामा हरेक पाँचमध्ये एक बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेको छ।

अफ्रिकामै बाल विवाहको दरमा पछिल्ला वर्षमा निकै घटेको छ। एक तथ्यांकअनुसार सन् १९९० मा ४४ प्रतिशत बाल विवाह रहेकामा सन् २०१५ मा त्यो घटेर ३४ प्रतिशतमा आइपुगेको छ।

युनिसेफले बाल विवाहको न्यूनीकरणका क्षेत्रमा इथियोपियाले गरेको कार्य प्रशंसनीय रहेको जनाएको छ। युनिसेफले बाल विवाह न्यूनीकरणमा अझ बढी सहकार्य, बजेट विनियोजन, जवाफदेही संयन्त्र तथा तथ्यांकको उपलब्धतामा जोड दिएको छ।

युनिसेफले बाल विवाह र महिलाको योनीछेदन अन्त्य गर्नेसम्बन्धी राष्ट्रिय गठबन्धनको स्थापना अर्को महत्वपूर्ण कदम रहेको जनाएको छ। अफ्रिकामा अहिलेकै बाल विवाहको दर कायम रहे विवाहित बालिकाको संख्या आगामी सन् २०५० सम्ममा हालको १२ करोड ५० लाखबाट ३१ करोड पुग्ने युनिसेफको अनुमान छ।

प्रकाशित: ३१ श्रावण २०७६ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App