coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इदमा काश्मीरमा सुरक्षा व्यवस्था झन् कडा

श्रीनगर– सोमवार सुरु हुने इद अल अधा पर्वको पूर्व सन्ध्यादेखि नै काश्मिरका सबैजसो मस्जिदहरुमा सुरक्षाव्यवस्था कडा बनाइएको भारतीय अधिकारीहरूले बताएका छन्। यस हिमाली क्षेत्रमा रहेका ठूला जामा मस्जिदहरुलाई बन्द गर्ने आदेश दिइएको छ। ससाना मस्जिदहरु मात्र खुल्ला राखिएको र ती मस्जिदमा ठूलो भीडभाड नभएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

गएको दुई दिनयता यहाँ कर्फ्यू खुकुलो पारिएको बताइएको थियो। तर, यस पर्वका अवसरमा हुनसक्ने हिंसालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरिएको जनाइएको छ। जम्मु काश्मिरलाई नियन्त्रण लगाई केन्द्र सरकारको मातहतमा राख्ने कदमको विरोध भएका कारण काश्मिरमा आठ दिनदेखि सुरक्षा व्यवस्था कडा गरिएको समाचारमा जनाइएको छ।

मुसलमानको बाहुल्य भएको जम्मू् काश्मिर क्षेत्रमा खटाइएका दशौँ हजार सुरक्षाकर्मीहरू गस्तीमा रहेका र फोन लाइन तथा इन्टरनेट काटिएको एक साता भएको छ। गत बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मीरका नागरिकलाई इद उल अधा पर्व मनाउन सहज पारिदिने वाचा गरेका थिए।

जम्मू काश्मीरलाई विशेष महत्व दिने संविधानको धारा ३७० हटाउने भारत सरकारको निर्णयपछि काश्मीरमा विरोध भइ आएको छ। भारत सरकारको यो कदमपछि विश्वको आँखा भारत प्रशासित काश्मीरको अवस्थाप्रति केन्द्रित रहेको छ।

मुसमान समूदायको ठूलो पर्व इदको लागि भारतको नियन्त्रणमा रहेको काश्मिर प्रशासनले आइतबार कतिपय इलाकामा कर्फ्यू खुकुलो पारेको थियो। कर्फ्यू खुकुलो पारेपछि सडकमा केही चहलपहल देखिएको सोमवारको इदको किनमेल गर्न सबै जना बाहिर निस्किएका थिए। त्यस प्रयोजनका लागि सवारी साधन पनि केही खुकुलो पारिएको थियो। आइतवार दिउँसोको १२ बजेसम्म सडकमा नागरिक र सवारी साधनको आवतजावत बढेको काश्मीरबाट प्राप्त भएका समाचारमा जनाइएको थियो।

आइतबार कतिपय स्थानमा ट्राफिक जाम पनि भएको बताइएको थियो। तर १२ बजेपछि अचानक सुरक्षा व्यवस्थामा कडा गरिएको र मानिसको चहलपहल स्वात्तै घटेको थियो। त्यहाँ अहिले पनि सञ्चार तथा सूचनाका साधनहरु पनि प्राय बन्द छन्। निरन्तरको कफ्र्यू र सञ्चारको अभावमा त्यहाँको अवस्था के कस्तो छ भन्ने बारेमा केही सूचना प्राप्त हुन नसकेको स्थानीयको भनाई छ।रासस/एएफपी

प्रकाशित: २७ श्रावण २०७६ ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App