७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

न्याय तुहाउने अपराधीलाई फाँसी

मृत्युदण्ड पाएका चाहो चिहोङ (बीचमा)

बेइजिङ - शृंखलाबद्ध हत्या र बलात्कारको अभियोगमा दोषी ठहरिएका चीनको भित्री मंगोलिया स्वायत्त प्रदेशका ५६ वर्षीय चाहो चिहोङलाई मृत्युदण्ड दिइएको छ। ६ जनाको हत्या र १० महिलासहित दुईजना १४ वर्षमुनिका बालिकालाई बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका चाहोलाई मंगलबार बिहान मृत्युदण्ड दिइएको हो।

चीनमा हरेक वर्ष कैयौंलाई मृत्युदण्ड दिने भए पनि त्यस्ता विषय सामान्यतः समाचार नबने पनि चाहोलाई दिएको मृत्युदण्डबारे भने चिनियाँ सञ्चारमाध्यमले प्रमुख समाचार बनाएका छन्। चाहोको मृत्युदण्डको समाचार प्रमुख हुनुका पछाडि सन् १९९६ मा भित्री मंगोलिया स्वायत्त प्रदेशमा याङ थर भएकी एकजना महिलाको हत्या मुख्य रूपमा जोडिएको छ। २३ वर्षअघि याङको हत्यामा भएको अनुसन्धानले चिनियाँ प्रहरी तथा अदालती व्यवस्थाको कमजोरीलाई नराम्ररी उजागर गरेको थियो, जसलाई चिनियाँ संचारमाध्यमले ‘तुहिएको न्याय’भनेर व्यङ्ग्य गरेका थिए।

सन् १९९६ अप्रिल ९ मा भित्री मंगोलिया स्वायत्त प्रदेशको एक गार्मेन्ट उद्योगनजिकै रहेको सार्वजनिक शौचालयमा एकजना महिलाको बलात्कारपछि हत्या भएको थियो। ती महिला चिच्याएको सुनेर गार्मेन्ट कारखानामा काम गर्ने १८ वर्षीय हुगचिल्थु दौडेर गएका थिए। भर्खरै प्राण त्यागेकी याङ देखेका उनले तत्काल प्रहरीलाई खबर गरे तर दुर्भाग्य हत्याको आशंकामा प्रहरीले उनीमाथि नै अनुसन्धान सुरु ग¥यो। किशोर हुगचिल्थुलाई हिरासतमा लिइयो र कडा यातना दिएपछि उनले अपराध स्वीकार गरे। फलतः हिरासतमा लिइएको दुई महिनामै १९९६ जुन १० मा अदालतले उनलाई मृत्युदण्ड सुनायो र सोही दिन नै उनलाई मृत्युदण्ड दिइयो।    अपराध स्वीकार गरेका हुगचिल्थुलाई मृत्युदण्ड दिएपछि मुद्दाको फाइल बन्द भयो।

यद्यपि मुद्दा आश्चर्यजनक रूपमा नौ वर्षपछि सन् २००५ मा फेरि खुल्यो। हत्या शृंखलामा संलग्न भित्री मंगोलियाकै चाहो चिहोङ पक्राउ परे। उनले सन् १९९६ देखि २००५ सम्ममा ६ जनाको हत्या र दुई बालिकासहित १२ जना महिलालाई बलत्कार गरेको कुरा स्वीकार गरे। उनले चारजनालाई हातले घाँटी दबाएर हत्या गरेका थिए भने एकजनालाई टेलिफोनको तारले घाँटीमा बाँधेर र अर्का एकजनालाई तरबारले हानेर हत्या गरेको प्रहरीलाई बताएका थिए। बयानका क्रममा चाहोले सन् १९९६ मा एउटा गार्मेन्ट कारखाना नजिकैको सार्वजनिक सौचालयमा याङ थरकी एकजना महिलालाई बलत्कारपछि हत्या गरेको बताए।

चाहोको बयानपछि प्रहरीले अनुसन्धान गर्दा उनले गरेको हत्याको आरोपमा नौ वर्षअगाडि एकजना निर्दोष किशोरलाई फाँसी दिइएको पत्ता लागेको थियो। त्यसपछि मिहिन रूपमा अनुसन्धान गर्दा के पत्ता लाग्यो भने ती निर्दोष किशोर हुगचिल्थुलाई अधिक यातना दिएर अपराध कबुल गर्न लगाइएको रहेछ। चाहोले बलात्कार र हत्या गरेको स्वीकार गरेपछि हुगचिल्थुकी आमाले २००५ मै मुद्दा उल्ट्याएर नौ वर्षअघि फाँसी दिइएको आफ्नो छोरालाई निर्दोष सावित गर्न अपिल गरेकी थिइन्।

नौ वर्षको अनुसन्धानपछि सन् २०१४ डिसेम्बर १५ तारिख भित्री मंगोेलिया उच्च अदालतले १८ वर्षअघि मृत्युदण्ड दिइएका हुगचिल्थु निर्दोष रहेको फैसला सुनायो। त्यसपछि सन् २०१५ फेब्रुअरी ९ का दिन सोही अदालतले नै चाहो चिहोङलाई मृत्युदण्ड दिने फैसला ग¥यो। सोही वर्षको डिसेम्बर ३१ मा राज्यको तर्फबाट माफी माग्दै हुगचिल्थुकी आमा शाङआइयुन र बुबा ली सानरनलाई क्षतिपूर्तिस्वरुप २० लाख चिनियाँ युआन चीन सरकारले दियो।

सन् २०१५ मै मृत्युदण्ड सुनाइए पनि चाहोलाई चार वर्षपछि मंगलबार मात्र मृत्युदण्ड दिइएको हो। यसभन्दा पहिले हुगचिल्थुजस्तै केही निर्दोषले मृत्युदण्ड पाइसकेकाले हतारमा मृत्युदण्ड दिँदा ठूलो गल्ती हुने भएकाले चार वर्षसम्म पर्खिएर मात्र चाहोलाई मृत्युदण्ड दिइएको चिनियाँ संचारमाध्यमले लेखेका छन्। सन् २०१६ को फेब्रुअरीमा चिनियाँ प्रशासनले हुगचिल्थुलाई कायलकाबु बनाउने तत्कालीन प्रहरी अधिकारी र मृत्युदण्डको फैसला गर्ने न्यायाधीससहित सम्बन्धित २७ जना अधिकारीलाई कारबाही गरिसकेको छ।

मंगलबार मृत्युदण्ड पाउनुअघि चाहोले आफ्ना कुनै आफन्तसँग भेट गर्न मानेनन्। थुप्रै अपराध गरे पनि अदालतमा उभिँदा उनको उज्यालो अनुहारलाई चिनियाँ टेलिभिजनले हँसिलो हत्यारा भनेर नामकरण गरेका थिए। पछिल्लो समय चीनले मृत्युदण्डलाई तत्काल कार्यान्वयन नगरी थप अनुसन्धान गर्ने गरेको छ। चीनले सन् २०१० मा मृत्युदण्ड दिइँदा चाहिने अकाट्य प्रमाणहरु जुटाउने कुरालाई विस्तार गरेको थियो भने सन् २०१५ मा ५५ वटा मृत्युदण्डका मुद्दालाई घटाएर ४६ मा झारेको थियो।

प्रकाशित: १७ श्रावण २०७६ ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App