८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ट्रम्प र चार महिला सांसदबीच आरोप–प्रत्यारोप

पत्रकार सम्मेलनमा आयान्ना प्रेस्ली, इल्हान ओमर, एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, रासिदा तलाइब (बायाँबाट क्रमशः) सोमबार आयोजित पत्रकार सम्मेलनमा। तस्बिर : बिबिसी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विट आक्रमणमा परेका चारजना अमेरिकी महिला सांसदले ट्रम्पले आफ्ना असफल नीतिहरुबाट ध्यान अन्तै मोड्न विभेदकारी टिप्पणी गरेको बताएका छन्।

ट्रम्पले ‘आफ्नो देश’ फर्कन भनेका आप्रवासी मूलका चार महिला सांसदले सोमबार पत्रकार सम्मेलन आयोजना गरेर यस्तो बताएका हुन्। उनीहरूले ट्रम्पका भनाइमा भन्दा पनि उनको नीतिमा केन्द्रित हुनुपर्ने जोड थिए। ट्रम्पले निसाना बनाएका एलेक्जान्ड्रिया ओकासियो कोर्टेज, रासिदा तलाइब, आयान्ना प्रेस्ली र इल्हान ओमर फरक जातीय पृष्ठभूमिबाट अमेरिकी संसदमा आएका सांसद हुन्।

ओमर बाल्यकालमा सोमालियाबाट अमेरिका प्रवेश गरेकी थिइन् भने अरु तीन जना संयुक्त राज्य अमेरिकामै जन्मे हुर्केका हुन्। उनीहरू चारै जना २०१८ मा सांसद निर्वाचित भएका हुन्। उता राष्ट्रपति ट्रम्पले भने आफ्नो प्रतिरक्षा गर्दै थप आक्रामक टिप्पणी गरेका छन्। आफूमाथि लागेको रंगभेदको आरोपको खण्डन गर्दै ट्रम्पले ती सांसदहरुले अमेरिकालाई घृणा गर्ने गरेको आरोप लगाएका छन्। मंगलबार एउटा ट्विट गर्दै उनले ती सांसदहरुले ‘घृणाजन्य शब्द’ बोलेको आरोप लगाएका छन्।

ट्रम्पले आइतबार गरेको ट्विटमा ती सांसदको नाम उल्लेख नगरिएको भए पनि ‘द स्क्वाड’ भनेर परिचित ती चारजना डेमोक्रेट सांसदप्रति नै उनको ट्विटलक्षित थियो भन्ने प्रष्ट छ। ट्रम्पले ती महिला सांसद ‘पूर्ण रूपमा असफल राष्ट्रबाट अमेरिका आएको’ भन्दै आइतबार उनीहरुलाई आफ्नो थातथलोतिर फर्कन भनेका थिए। राष्ट्रपतिसँग वाक्युद्ध चलिरहेका चारजना महिला सांसदले पत्रकार सम्मेलनमा ट्रम्पले मूल विषयबाट ध्यान अन्तै मोड्न आफूहरुमाथि त्यस्तो टिप्पणी गरेको आरोप लगाएका छन्। ‘यो प्रशासनको भ्रष्ट र निर्दयी संस्कारबाट ध्यान अन्तै मोड्नका लागि यस्तो टिप्पणी गरिएको हो,’ पत्रकार सम्मेलनमा सांसद प्रेस्लीले बताइन्। सांसद रासिदा तलाइब र इल्हान ओमरले ट्रम्पलाई महाभियोग लगाउनुपर्ने आफ्ना मागलाई पुनः दोहो¥याएका छन्।

ती सांसदहरुले के भने ?
सांसद प्रेस्लीले राष्ट्रपति ट्रम्पले ‘आफूहरुलाई एक्ल्याउन र चुप लगाउन गरेको प्रयास’ सफल नहुने बताएकी छन्। उनले आफूहरु चार जना मात्रै नभएर न्यायसंगत राष्ट्र निर्माणमा लागिपरेका व्यक्तिहरू पनि आफ्नो समूहमा भएको बताएकी छन्।

‘हाम्रो स्क्वाडमा विश्वलाई थप समतामुलक र न्यायपूर्ण बनाउनका लागि प्रतिबद्ध सबै छन्,’ उनले भनिन्। स्वास्थ्यसेवा, बन्दुकजन्य हिंसा र मेक्सिकोको सीमामा आप्रवासीलाई बन्दी बनाइएका जस्ता विषयमा ध्यान केन्द्रित गरिनुपर्ने धारणा पनि चारैजना महिला सांसदहरुले व्यक्त गरेका छन्।
‘इतिहासका आँखाले हामीहरुलाई हेरिरहेको छ,’ सांसद ओमारले बताइन्।

ट्रम्पको ट्विट जातिवादी र विभेदकारी भएको भन्दै विश्वभरबाट आलोचना भएका छन्। यद्यपि सामाजिक सञ्जालमा गरिएको आफ्नो अभिव्यक्ति विवादमा परेपछि ट्रम्प अझ आक्रमक भएका छन्। ती चार सांसदले अमेरिकाका शत्रुलाई मन पराएको आरोप लगाउँदै ट्रम्पले अमेरिकामा खुसी नभए उनीहरू देशबाहिर जान सक्ने टिप्पणी गरेका छन्। ‘यदि तपाईंहरु सन्तुष्ट हुनुहुन्न भने र सधैं गुनासो मात्र गर्नुहुन्छ भने तपाईंहरु जान सक्नुहुन्छ,’ ह्वाइट हाउसबाहिर आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले बताए। ट्रम्पको उक्त भनाइको विपक्षी दलका नेताहरूले तीव्र आलोचना गरेका छन्। रिपब्लिकन पार्टीबाट केही सदस्यहरुले मात्र टिप्पणी गरेको भए पनि सिनेटर सुसन कोलिन्सले भने ट्रम्पको अभिव्यक्ति अस्वीकार्य रहेको बताएकी छन्। राष्ट्रपति पदका लागि भएको निर्वाचनमा ट्रम्पको प्रतिद्वन्द्वी बनेकी हिलारी क्लिन्टनले पनि अमेरिकाका थुनुवा केन्द्रमा व्याप्त अमानवीय अवस्थाबारे ध्यान आकर्षण गरेकाले ती सांसदमाथि आक्रमण गरिएको बताएकी छन्।

प्रकाशित: १ श्रावण २०७६ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App