८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

तेहरानविरुद्ध वासिङ्टनको नयाँ प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी।

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्ध लगाएका छन्। उनले एक कार्यकारी आदेशमार्फत् इरानमाथि थप प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन्। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई लक्षित नयाँ प्रतिबन्धलाई ट्रम्पले अमेरिकी ड्रोन खसालिएको र ‘अन्य थप कुराको’ प्रत्युत्तर भएको जिकिर गरेका छन्।

राष्ट्रपति ट्रम्पले इरानी शासनको उत्तेजक व्यवहारका लागि सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सबैभन्दा बढी जिम्मेवार रहेको भन्दै उनीविरुद्ध थप प्रतिबन्ध लगाइएको बताएका छन्।

‘अमेरिकी प्रतिबन्ध वाहियात’
अमेरिकाले लगाएको पछिल्लो प्रतिबन्धप्रति इरानी राष्ट्रपति हसन रौहानीले कडा प्रतिक्रिया दिएका छन्। वासिङ्टनले तेहरानसँग वार्ता गर्न चाहेको भन्ने विवरण पनि झुटो भएको राष्ट्रपति रौहानीको भनाइ छ। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीविरुद्ध लगाएको प्रतिबन्ध ‘वाहियात’ भएको बताएका छन्। अमेरिकाको पछिल्लो कदमले ह्वाइट हाउस ‘दिमागी रूपमा पूर्ण ध्वस्त भइसकेको’ देखिएको राष्ट्रपति रौहानीले बताए।

आफ्ना सर्वोच्च नेतालाई लक्षित गर्दै ट्रम्पले प्रतिबन्ध लगाएपछि इरानी विदेशमन्त्री जावाद जरिफले पनि प्रतिक्रिया दिएका छन्। उनले अमेरिकाले ‘कूटनीतिलाई घृणा गर्ने गरेको’ भन्दै ट्रम्पको कदमको कडा शब्दमा निन्दा गरेका छन्। इरानविरुद्ध अमेरिकी राष्ट्रपति ट्रम्पले नयाँ प्रतिबन्ध घोषणा गरेपछि उनले ट्रम्प प्रशासनले ‘युद्धको तृष्णा’ देखाएको भन्दै एउटा ट्विट पनि गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने नयाँ प्रतिबन्ध पछिल्लो पटक इरानले देखाइरहेको ‘आक्रामक व्यवहार’माथिको प्रतिक्रिया भएको जनाएका छन्। गत साता इरानी सुरक्षा फौजले अमेरिकी सुपरिवेक्षण ड्रोनलाई खसालेको थियो। अमेरिकाले आफ्नो देशको हवाई क्षेत्रमा प्रवेश गरेकाले सो ड्रोन खसालेको तेहरानको दाबी छ। अमेरिकाले भने मानव रहित आफ्नो ड्रोन अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा रहेकै बेला इरानले खसालेको आरोप लगाउँदै आएको छ।

आफ्नो मानवरहित ड्रोनलाई इरानले खसालेपछि उसविरुद्ध गर्न लागिएको हवाई हमला अन्तिम समयमा आफूले रोकेको दाबी पनि अमेरिकी राष्ट्रपति ट्रम्पले गरिरहेका छन्। उनले हवाई हमलाबाट एक सय ५० जना इरानी नागरिकको ज्यान जाने भन्ने थाहा पाएपछि तत्कालै सो कदम रोकेको जिकिर पनि गरेका छन्। इरानले खाडी क्षेत्रमा दुई वटा विस्फोटमार्फत् आफ्ना छ वटा तेल बोक्ने ट्यांकर पनि ध्वस्त पारेको अमेरिकाले आरोप लगाइरहेको छ। इरानले भने अमेरिकाको यस्तो आरोपलाई पनि अस्वीकार गर्दै आइरहेको छ।

विश्वका छ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको आणविक सम्झौतालाई अमेरिकाले एकतर्फी रूपमा तोडेपछि दुई देशबीचको तनाव बढ्दो क्रममा रहेको छ। ऐतिहासिक आणविक सम्झौतामा इरानले आफ्नो आणविक कार्यक्रमलाई रोक्ने र त्यसको बदलामा उसविरुद्ध लागिरहेको प्रतिबन्ध हटाउने सहमति भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अपर्याप्त रहेकाले नयाँ ढंगबाट सम्झौता आवश्यक रहेको भन्दै एकतर्फी रूपमा सन् २०१५ को सम्झौता तोडेका थिए। सम्झौता तोडेर पुनः इरानमाथि प्रतिबन्ध लगाएपछि सन् २०१८ को मे महिनाबाट वासिङ्टन र तेहारानबीच तनाव जारी रहेको छ।

इरानले पनि गत महिना सन् २०१५ को सम्झौतामा सहमति भएका केही बुँदाबाट आफू पछि हटेको बताएको थियो। जसमा युरेनियम प्रशोधनको मात्रालाई वृद्धि गर्ने विषय पनि रहेको छ। आणविक हतियार सम्पन्न दुई राष्ट्रबीचको पछिल्लो तनावलाई लिएर संयुक्त राष्ट्रसंघीयको सुरक्षा परिषद्ले चिन्ता व्यक्र गरेको छ। उसले दुवै पक्षलाई शान्तिपूर्ण ढंले कूटनीतिक बाटो प्रयोग गर्न वासिङ्टन र तेहरानलाई आग्रह गरेको बिबिसीले उल्लेख गरेको छ।

दुई देशबीच विवाद चर्किरहेकै बेला आएको अमेरिकी प्रतिबन्धले थप समस्या सिर्जना हुने अनुमान गरिएको छ। पछिल्लो प्रतिबन्ध इरानको सत्तामा बस्ने र इस्लामिक रेभ्युलुसनरी गार्ड कोर भनिने इरानी सेनाको ‘हानिकारक क्षेत्रीय गतिविधि’ को नेतृत्व गर्ने आठ वरिष्ठ नेताप्रति लक्षित रहेको अमेरिकी अर्थ मन्त्रालयले जिकिर गरेको छ।

प्रतिबन्धले इरानको नेतृत्वले आर्थिक स्रोतको पहुँच रोकिदिनेछ र इरानका सर्वोच्च नेता वा उनको कार्यालयले नियुक्त गरेका अधिकारीविरुद्ध कारबाही गर्न सघाउने अमेरिकाको अपेक्षा छ। अमेरिकी अर्थमन्त्री स्टिभ मनुसिनका अनुसार इरानी विदेशमन्त्रीविरुद्ध पनि यही साता थप प्रतिबन्ध लगाइनेछ।

प्रकाशित: ११ असार २०७६ ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App